काठमाडौं। भृकुटीमण्डपमा गाडीका स्टल सजिएका थिए, कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय थियो। १७औं संस्करणको नाडा अटो शोको उत्साह जति थियो आयोजकलाई चिन्ता पनि उस्तै थियो -अटो शो कस्तो होला?
प्रधानमन्त्री केपी शर्मा ओली तोकिएभन्दा ढिलो कार्यक्रममा पुग्दा आयोजकलाई झनै चिन्ता बढ्यो। स्टेजमा प्रधानमन्त्रीको आगमन कुरिरहेका नाडाका पदाधिकारीले कुरिरहेका थिए। एक घण्टा अगाडि देखिनै अर्थमन्त्री विष्णु पौडेललगायत अन्य मन्त्री पनि कुरिरहेका थिए। करिब एक घण्टाको प्रतीक्षापछि प्रधानमन्त्री पुगे र औपचारिक कार्यक्रम सुरु भयो।

यस पटकको अटो शोमा एउटा फरक र विशेष आकर्षण थियो। गेटमा नै प्रधानमन्त्रीलाई स्वागत गर्न रोबोट राखिएको थियो। जसले प्रधानमन्त्रीलाई गेटमा स्वागत गरेर मञ्चसम्म डोहोर्यायो। मञ्चमा पनि रोबोटले केही रोचक कला देखाएपछि कार्यक्रम अझै प्रविधिमैत्री बन्यो। उद्घाटनपछि प्रधानमन्त्रीले अटो शोको प्रशंसा गर्दै यसले फ्युचर मोबिलिटी र प्रविधिलाई प्राथमिकता दिएको पनि बताए।
त्यसपछि उनले कर्टेन रेजर गरेपछि अटो शो २०२५ को शुभारम्भ भयो।
उद्घाटनपछि प्रधानमन्त्रीले फ्लाइङ ट्याक्सीसहित विभिन्न गाडीका स्टल अवलोकन गरे। प्रधानमन्त्रीको उपस्थितिले कार्यक्रममा रौनक थपियो। उक्त समयमा शोमा मानिसहरूको भीड बढेको थियो।
फ्लाइङ ट्याक्सी र केही स्टलमा थियो भीड
अटो शोको मुख्य आकर्षणको केन्द्रविन्दुमा रहेको डिपलको फ्लाइङ ट्याक्सीको स्टलमा भीड थियो। फ्लाइङ ट्याक्सी हेर्न र त्यसबारेमा चासो लिनेहरूको दिनभर नै कमी रहेन। हरेक समय मानिस त्यहीँ झुम्मिएका थिए। यो स्टलमा चांगन डिपलका सबै मोडलका गाडी राखिएका थिए। भर्खरै लन्च गरिएको एस०५ मा मानिस निकै चासो देखाइरहेका थिए। यस्तै ह्याचब्याक लुमिन जस्ता गाडीमा पनि मानिसहरूको चासो धेरै थियो। मूल्यका कारण उक्त गाडीमा आकर्षण थियो। गाडीको मूल्य २२ लाख ९९ हजार रुपैयाँ राखिएको छ।

यस्तै अर्को बिवाइडीको स्टलमा पनि मानिसहरूको भीडभाड थियो। नाडा अटो शोबाटै प्रधानमन्त्रीले बिवाइडीको नयाँ गाडी एटो २ सार्वजनिक गरेका थिए। गाडीको मूल्य बजारमा प्रतिस्पर्धी रूपमा नै राखिएको छ। सिगल अर्थात् एटो १ मा पनि मानिसहरूको चासो निकै देखिन्थ्यो।
डोङफेङ नामीको स्टललाई पनि दर्शकले साथ दिए। नयाँ गाडी नामी ०६ को मूल्यले दर्शक आकर्षित थिए। कम मूल्य राखेर गाडी सार्वजनिक गरेपछि ग्राहक ३ बजेपछि उक्त स्टलमा झुम्मिएका थिए।
यस्तै टाटा र सुजुकीको स्टलमा पनि मानिसहरूको फ्लो राम्रो देखिएको छ। यी दुवै स्टलमा पेट्रोल र इभी सेगमेन्टका गाडी छन्। साथै सस्तोदेखि हाईइन्डसम्मका गाडी रहेकाले ग्राहकहरूलाई सबै खाले विकल्प हेर्न पाइरहेका देखिन्छ। दुवै स्थापित कम्पनी भएकाले पनि ग्राहक ब्रान्ड पछ्याइरहेका देखिन्थे।
बाइकतर्फ भने हिरोको एक्सपल्स २१० ले पनि राम्रो भीड बटुलेको छ। हिरोको उक्त बाइक हेर्नेको भीड राम्रै थियो। यामाहा र रोयल इन्फिल्ड ठिकै क्राउड थियो।
नाइमासँगको प्रतिस्पर्धामा फरक हुने होड
नाइमासँगको प्रतिस्पर्धाका कारण शोलाई फरक बनाउने होडमा नाडा रहेको देखिन्छ। नाडाले अहिलेसम्मकै फरक प्रकृतिले शो आयोजना गरेको छ। स्टल बनाउनदेखि फ्लो प्लानमा पनि पहिलेका वर्षभन्दा केही हदसम्म नाडाले राम्रो बनाउन खोजेको देखिन्छ।
अटो शोलाई पनि फरक बनाइएको छ। सधैं व्यापारमा केन्द्रित हुने नाडा यो पटक नयाँ प्रविधिको होडमा पनि छ।

यो पटकको अटो शोलाई पहिलेभन्दा फरक बनाउने प्रयासमा प्रदर्शनी हेर्न आउनेहरूको सुविधाका लागि स्टलसम्म पुग्न रुफ हालिएको छ। पानी पर्दा कुनै समस्या नहोस् भन्ने नाडाको अपेक्षा देखिन्छ। साथै प्रायः सबै हिँड्ने स्थानमा प्लाइउड बिछ्याइएको छ। गतवर्ष हिलाम्मे भएर हिँड्नुपर्ने बाध्यता थियो। यो पटक त्यस्तो देखिएन।
गार्डेन एरियामा स्पेयर पार्ट्सको लागि स्टल रहेका छन्। जहाँ नेपाली उत्पादनहरू अर्थात् नेपाल प्याभिलियन प्रदर्शनीमा राखिएका छन्। लुब्रिकेन्ट्स, टायर, हेलमेट, चार्जिङ स्टेसन लगायतका कम्पोनेन्ट त्यहाँ राखिएका छन्।
यो पटक पुराना क्लासिक भिन्टेज कारहरू पनि प्रदर्शनीमा राखिएका छन्। यसले धेरैको ध्यान केन्द्रित गरिरहेको देखिन्छ। ती गाडी अहिले एन्टिक पिसका रूपमा सजाएर म्युजियममा राख्ने अवस्था बनेको छ।
फ्युचर मोबिलिटीको लागि फ्लाइङ ट्याक्सी देखाइएको छ। फ्लाइङ ट्याक्सी पहिरोका कारण बाटो अवरुद्ध हुँदा बोकेर चीनबाट नेपाल ल्याइएको थियो। साथै, युनिट्रीको ह्युमनोइड रोबोटले पनि इन्टरटेनमेन्टको पाटोमा राम्रो भूमिका देखिन्छ।

पहिलो दिन लर्निङ सेसन पनि आयोजना गरिएको थियो। उक्त सेसनमा भारतबाट कम्पोनेन्ट र सवारीसाधन म्यानुफ्याक्चर्सको तर्फबाट प्रतिनिधि आएका थिए। उक्त सेसनमा इन्टरनेशनल अटो ट्रेडका बारेमा थियो। जसले नेपाली अटो बजारमा चीन र भारतको प्रभाव बारेमा छलफल भएको थियो।
एकै दिन साढे १९ हजारले गरे भिजिट
नाडा अटो शोका संयोजक तथा नाडाका अध्यक्ष करण चौधरीका अनुसार एकै दिन १९ हजार ७०६ जनाले अटो शोको अवलोकन गरेका छन्। यो गत वर्षभन्दा धेरै राम्रो संख्या हो। पहिलो दिन नै यसरी मानिसहरूको भीड हुनुले अटो शो सोचेभन्दा राम्रो हुने उनको विश्वास छ।

धेरै गाडी व्यवसायीहरूले पहिलो दिनमै उत्साहजनक बुकिङ भएको दाबी गरेका छन्। यस पटक विभिन्न ब्रान्डहरूले सबै सेगमेन्टका ग्राहकहरूलाई लक्षित गरी नयाँ मोडलका गाडी प्रस्तुत गरेका छन्। विगतमा गाडीको उच्च मूल्यले तर्सिने ग्राहकहरूका लागि यस पटकको प्राइस वारले आकर्षण बढाएको छ।











