काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)का दौरान बेटिङको विज्ञापन प्रयोग गरेको भन्दै विज्ञापन बोर्डले सचेत गराएको छ। बोर्डले विज्ञप्ति निकाल्दै क्यानलाई प्रचलित ऐन विपरीत विज्ञापन नगर्न सचेत गराएको हो।
‘पेश गरेको जवाफ चित्त बुझ्दो नभएकोले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ ट तथा विज्ञापन ( नियमन गर्ने) नियमावली, २०७७ को दफा ११ख (१) बमोजिम बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन ( नियमन गर्ने) ऐन, २०७६ एवं अन्य प्रचलित ऐन तथा नियम विपरीत विज्ञापन नगर्न सचेत गराइएको छ।’ विज्ञप्तिमा चेतावनीसहित भनिएको छ।
त्यस्तै, क्यानको कमर्सियल पार्टनर र उसले भित्र्याएको टीसीएम स्पोर्टस एण्ड मार्केटिङलाई भने बोर्डले कारबाही गर्ने निर्णय लिएको छ। बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको र प्रचलित कानुन विपरीतका विज्ञापन प्रर्दशन गरेको भन्दै बोर्डले कारबाही र निलम्बन गर्ने निर्णय लिएको हो।
‘यी दुवै एजेन्सीलाई दश / दश हजार रुपैयाँ जरिवाना गर्ने, ३ (तीन) महिनासम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र उक्त अवधिसम्म उक्त एजेन्सीलाई बोर्डमा सूचीकरण समेत नगर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
बोर्डले कार्तिक २० गतेसम्म ब्राण्ड डिजिटल लजिक र टीसीएम स्पोर्टससँग कुनै विज्ञापन कारोवार नगर्न विज्ञापनदाता र सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।
क्यान हाल दोस्रो संस्करणको एनपीएलको तयारीमा छ। पहिलो संस्करणको हिसाबकिताब पनि बोर्ड बैठकबाट पारित हुन बाँकी रहेकै अवस्थामा दोस्रो संस्करणका लागि अक्सन भने सम्पन्न भइसकेको छ।











