काठमाडौं। शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौंको टुकुचामा निर्माणाधीन पानी प्रशोधन केन्द्रको निरीक्षण गरेका छन्।
सिंहले सोमबार निर्माणाधीन पानी प्रशोधन केन्द्र निरीक्षणपछि कामको गति बढाउन निर्देशन दिएका छन्।
शहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति मातहत प्रशोधन केन्द्र निर्माणाधीन छ।
आयोजना निर्देशक प्रकाश अर्यालले टुकुचामा भइरहेको कामको अवस्था र आयोजनामा देखिएको समस्याबारे मन्त्री सिंहलाई जानकारी गराएका थिए। ‘मन्त्रीज्यूले निर्माणस्थल अवलोकन गर्नुभयो। अहिले भइरहेको कामबारे आयोजनाका तर्फबाट हामीले जानकारी गराएका छौं,’ अर्यालले भने, ‘उहाँले काम छिटो गर्न निर्देशन दिनुभएको छ।’
अर्यालका अनुसार टुकुचा प्रशोधन केन्द्र निर्माणको म्याद सकिन करिब १५ महिना बाँकी छ। समयमै सम्पन्न गर्ने गरी काम गरिरहेको अर्यालले बताए।
अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले तीन अर्ब १८ करोड ४५ लाख ८२ हजार रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो।











