पहिरो खसेपछि गुल्मीको रिडी-तम्घास खण्ड अवरुद्ध, सडक खुलाउने काम जारी



बिजमाण्डू
२०८२ भदौ २ गते १०:३० | Aug 18, 2025
पहिरो खसेपछि गुल्मीको रिडी-तम्घास खण्ड अवरुद्ध, सडक खुलाउने काम जारी
तस्बिर : रासस।

गुल्मी। वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास-रिडी सडकखण्ड अवरुद्ध बनेको छ।

Tata
GBIME
Nepal Life

उक्त सडक अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ स्थित भँगारी खोलानजिकैको सडकमा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

सदरमुकाम तम्घास नजिकै रहेको उक्त सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए। रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए।

सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरूबीच बाटोमै रोकिएका छन्। अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ। रासस