काठमाडौं। दार्चुला पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। आइपीओ निष्कासन गर्न कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा दार्चुला पावरका अध्यक्ष सतिस न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो।
दार्चुला पावरले हाल २८.३०४ मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यो चमेलिया खोलामा आधारित रन-अफ-रिभर प्रकारको आयोजना हो।
यो आयोजना दार्चुलाको मार्मा गाउँपालिकामा छ। उक्त आयोजनाको निर्माण कार्यहरू द्रुत गतिमा अगाडि बढेको र आगामी डेढ वर्षमा निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
कम्पनीको प्रमुख प्रवर्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड हो।











