काठमाडौं। भृकुटीमण्डपमा मंगलबारदेखि सुरु हुने नाडा अटो शो २०२५ को तयारी यतिखेर धमाधम चलिरहेको छ। यतिखेर भृकुटीमण्डपमा स्टल बनाउने कामका लागि संरचनाहरू निर्माण भइरहेका छन्।
अहिले हलभित्र प्रायः सबैको संरचना बनाउने काम अन्तिम चरणमा पुगेको छ। प्रिमियम स्टलहरू पनि तयार पारिँदैछ। साथै काउन्सेलिङ रुमहरू भने बन्दै छन्। यस्तै, बाहिरतिर नाडा अटो शो लेखिएका ब्यानरहरू राखिँदै छन्।
कम्पनीहरूका तर्फबाट निकै मेहनतका साथ स्टल बनाउने र सजाउने लगायतका तयारी भइरहेको छ। अटो शोमा पस्ने बित्तिकै स्पेयर पार्ट्सका स्टल आउनेछन्। त्यसपछि मात्रै प्रिमियम स्टलहरू हुँदै बाइक लगायत अन्य स्टलहरूमा जान मिल्ने व्यवस्था गरिएको छ।

शोलाई आकर्षक र व्यवस्थित बनाउन सजावटको काम पनि जारी छ। ब्यानरहरू राख्ने काम भइरहेका छन्। हल क्रस गर्नका लागि फलामको भर्याङ पनि हालिएको छ।
गार्डेन एरियामा स्टेज र स्पेयर पार्ट्सका लागि स्टलहरू बनाइरहेको देखिन्छ। यो पटक पनि नाडाले भृकुटीमण्डपका सबै स्पेस लिएर भिजिटर र एक्जिबिटरका लागि सहज बनाउने कोसिस गरेको देखिन्छ।
मेलामा कुल ७५ वटा कम्पनी तथा संस्थाका स्टल रहनेछन्। चार पांग्रे गाडी, दुई पांग्रे मोटरसाइकल/स्कुटर, लाइट कमर्सियल गाडी, फाइनान्स कम्पनी, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी, पुर्जा लगायत अटोसँग सम्बन्धित विभिन्न उत्पादनको प्रदर्शनी रहनेछ।

साथै, यो पटक नयाँ फ्लाइङ कार र रोबोट पनि देख्न पाइनेछ। यस्तै, पुराना क्लासिक भिन्टेज कारहरूको कलेक्सन पनि हुनेछ।

















