काठमाडौं। सभामुख देवराज घिमिरेले संघीय निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ गायब सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका सम्बन्धित निकायमा पठाउन निर्देशन दिएका छन्।
सभामुख घिमिरेले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई प्रतिवेदन कार्यान्वयनका लागि पठाउन निर्देशन दिएका हुन्।
सभामुखले प्रतिवेदन सबै पार्टीका संसदीय दलको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारको नेतृत्वमा असार २३ गते गठित सात सदस्यीय समितिले साउन २० गते प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनमा आफूलाई नैतिकरुपमा मुख्य जिम्मेवार ठहर्याइएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन्।











