‘स्मार्ट लाइसेन्स’ चार महिनामा छापिसकिने, मास प्रिन्टर दैनिक १५ घण्टा चल्दा ५ हजार नयाँ कार्ड



रासस
२०७६ माघ १७ गते १३:५८ | Jan 31, 2020
‘स्मार्ट लाइसेन्स’ चार महिनामा छापिसकिने, मास प्रिन्टर दैनिक १५ घण्टा चल्दा ५ हजार नयाँ कार्ड


 
काठमाडौं। स्मार्ट लाइसेन्स छिटो छापेर वितरणका लागि यातायात व्यवस्था विभागले सक्रियता बढाएको छ। हाल छाप्न बाँकी रहेका ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनाभित्र सबै तयार पार्नेगरि काम थालिएको छ।

Tata
GBIME
Nepal Life

बढी प्रिन्टिङ क्षमताको उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्को दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले जनाएको  छ ।     
     
प्रविधिमा कुनै पनि किसिमको समस्या नआए समयमै काम सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अबको ६ महिनामा सेवाग्राहीले परीक्षा पास गरेको केही दिनमै अनुमतिपत्र पाउने उनको भनाइ छ । 'अहिले रहेको छाप्न बाँकी अनुमतिपत्र सकिँदा मास प्रिन्टरको क्षमताले मागअनुसार छाप्न सक्छ,' उनले भने।     
     
 झण्डै आठ लाख चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहँदा गत असोजमा मास प्रिन्टर ल्याइएको थियो । आइपुगेको दुई महिनासम्म पनि जडान गर्ने र तथ्यांक सार्ने लगायतका काम भएपछि गत महिनाबाट प्रिन्टर सञ्चालनमा आएको हो । पहिलो केही साता एक सिफ्टमा मात्रै सञ्चालन भएकोमा दुई सिफ्ट हुँदै अहिले तीन सिफ्टमा सञ्चालन भइरहेको विभागले जनाएको छ ।

 
अहिले दैनिक सात/सात घण्टा गरी तीन सिफ्टमा सञ्चालन भइरहेको महानिर्देशक हमालले बताए । दैनिक २१ घण्टामा उपकरण समय-समयमा रोकेर १५ देखि १६ घण्टा प्रयोगमा ल्याइएको छ । उनले भने 'अहिले मास प्रिन्टरबाट दैनिक झण्डै पाँच हजार अनुमतिपत्र छपाइ भइरहेको छ ।'     
     
 मास प्रिन्टरसँगै विभागमा विगतदेखि सञ्चालनमा रहेका साना क्षमताका तीन प्रिन्टर छन् । तीन प्रिन्टरले दैनिक झण्डै एक हजार अनुमतिपत्र छापिरहेको छ । मास प्रिन्टर परीक्षणकालदेखि अहिलेसम्म नियमितरूपमा सञ्चालनमा छ । अहिलेसम्म कुनै पनि किसिमको समस्या नआएको उनले बताए।     
     
 विभागमा अहिले देशभरका यातायात व्यवस्था कार्यालयहरुबाट आवेदन आइरहेको छ । हस्तलिखित अनुमतिपत्र विस्थापित गर्न परीक्षा पास भएका र नवीकरण गर्ने दुवै सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गरिँदै आएको छ । यातायात कार्यालयहरु प्रदेश सरकारमा हस्तान्तरण भइसके पनि ती कार्यालयबाट आएका आवेदनबाट विभागले अनुमतिपत्र छापिरहेको छ । कतिपय प्रदेश सरकारले विगतमा अनुमतिपत्र छपाइमा ढिलाई हुँदा आफैं छाप्ने बताए पनि अहिलेसम्म कुनैले पनि छाप्ने काम गरेका छैनन् ।     
     
 विभागमा विगतका वर्षमा उपकरणको क्षमताभन्दा माग बढी थियो । त्यस्तै छपाइ गर्न कार्ड पनि पर्याप्त नभएको विभागले बताउँदै आएको थियो । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन सरकारले गत वर्ष नै ठूलो संख्यामा एकैपटक छाप्ने ‘मास प्रिन्टर’ सँगै १० लाख कार्ड खरिदका लागि पनि ठेक्का सम्झौता गरेको थियो । सबै कार्ड आइसकेकाले अहिले त्यो समस्या पूरै हटिसकेको महानिर्देशक हमालले बताए । उनले भने 'डेढ लाख कार्ड छपाइ गरिसकेका छौं। अझै आठ लाख ५० हजार कार्ड हामीसँग छ ।'     
     
 विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रियामार्फत मद्रास प्रिन्टर प्रालिमार्फत नयाँ प्रिन्टर खरिद गरेको हो । विभागमा छपाइ गर्न सक्ने क्षमताभन्दा माग धेरै गुणा बढी हुँदा विगतमा झण्डै एक वर्षसम्म सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् । कतिपय कार्ड भने छापिएको लामो समय हुँदासमेत सेवाग्राही लिन नआउँदा व्यवस्थापन गर्न कठीन भएको यातायात व्यवस्था कार्यालयहरुले बताउँदै आएका छन् ।     
     
 विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै छ । पहिले सातवटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न थालेको थियो । तीमध्ये अहिले तीनवटा मात्रै काम गर्ने अवस्थामा छन् ।     
     
 ‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हटाउन मन्त्रालयले पनि चासो देखाउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयमै विभागमा पुगेर ‘मास प्रिन्टर’ अवलोकन गर्दै विभागलाई समयमै चालक अनुमतिपत्र छपाइ गरिसक्न निर्देशन दिएका थिए ।