काठमाडौं। सेवाग्राहीसँग २४ लाख ५० हजार घूस लिएको आरोपमा पक्राउ परेका भक्तपुरका मालपोत प्रमुख कुमार आचार्य र उनका सहयोगी टिकाराम राउतविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी सो जग्गा मोहीको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाउने प्रयोजनार्थ पैसा मागेको खबर आयोगले पाएको थियो। आयोगको मुख्यालय टंगालबाट गएको टोलीले गत असार अन्तिम साता मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यको मोबाइल डिभाइस र सहयोगी राउतको साथबाट मोवाइल डिभाइस एवं घूसको रकम २४ लाख ५० हजार बरामद गरेको थियो। दुवैलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानमा आचार्य र राउतसमेतको मिलेमतोमा भक्तपुर साविक चाँगुनारायण-५ ख क्षेत्रफल १४-४-०-० जग्गाको मोही बाँडफाँड/नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाइदिने भनी घूस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
उनीहरुविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २४ लाख ५० हजार रुपैयाँ कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुनुपर्ने मागदाबी आरोप-पत्र दायर गरेको विज्ञप्तिमार्फत उल्लेख गरेको छ।











