काठमाडौं। आइतबार जिल्ला प्रहरी कार्यालय दार्चुलाले महालक्ष्मी विकास बैंक शैल्यशिखर नगरपालिका-९ मा रहेको बैंक कर्जा विभागमा कार्यरत धनञ्जय पन्तलाई नियन्त्रणमा लियो। सुत्केरी विदामा रहेका पन्तलाई प्रहरीले खबर गरेपछि उपस्थित भएका थिए।
सोही दिन नै बैंकिङ कसुर गरेको आरोपमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थाल्यो।
त्यो भन्दा दुई दिनअघि प्रहरीले शाखा प्रबन्धक सागर शाहीलाई नियन्त्रणमा लिएको थियो। त्यस्तै उनीसँगै बैंक कर्मचारी निर्मला साउद र अम्बादत्त पन्त पनि भोलिपल्ट नै हिरासतमा पुगे। आइतबार महालक्ष्मी विकास बैंक कार्यालयबाट नै जाहेरी आएपछि प्रहरीले धरपकड अगाडि बढाएको थियो।
‘हामीलाई बैंकको माथिल्लो निकायबाट नै जाहेरी आएपछि अनुसन्धान गर्न थप सहज भयो,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी डीएसपी प्रकाश दाहालले भने।
पक्राउ गरिएकाहरू विरुद्ध २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ हिनामिना गरेको आरोप छ। बैंकमा सेवाग्राहीले निक्षेपको रुपमा जम्मा गरेको रकमबाट अपचलन गरेको आरोपमा प्रहरीले अनुसन्धान थालेको हो। शाखा प्रमुख, विभिन्न विभागका कर्मचारीसँग मिलेर रकम अपचलन गरेको प्रारम्भिक रुपमा देखिएको छ। बैंकको भल्टबाट नै रकम लगिएको देखिन्छ।
आफ्नो शाखाका कर्मचारीले रकम अपचलन गरेको सूचना महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयले पाएपछि टोली पठाएको थियो। साउन २३ गते शाखामा पुगेर सुपरिवेक्षण गर्दा कर्मचारीको बदमासी खुलेको हो। शाखामा चार जना नै स्थायी कर्मचारीहरु हुन्।
भल्टमा जम्मा गरेको भौचर भेटियो, रकम भेटिएन
बैंकले जम्मा भएको रकम प्रत्येक दिन लगत सहित भल्टमा राख्ने गर्छ। शाखाका कर्मचारीले पनि जम्मा भएको रकम भल्टमा राखेको देखिन्छ। तर, त्यो कागजी मात्र देखिएको छ। भौचरमा रकम राखिएको देखिएपनि कर्मचारीले रकम नराखेर भौचर मात्र देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
केन्द्रको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो। टोलीको गरेको प्रारम्भिक अनुसन्धानबाट शाखाका कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको शंका गरिएको थियो। चारै जनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले तत्कालै उनीहरुलाई निलम्बन गरेको थियो।
‘उजुरी परेपछि केही प्रारम्भिक तथ्यको आधारमा अनुसन्धान भइरहेको छ। अहिले नै यसको डिटेल आइसकेको छैन,’ डिएसपी भने।
प्रहरीको अनुसन्धानमा बैंकका कर्मचारीले रकम अन्य बैंकमा जम्मा गरेको देखिएको छ। बैंकको केन्द्रीय कार्यालयले समेत यसलाई विस्तृत अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन्। त्यस्तै जिल्लाबाट मात्र नभएर आर्थिक अपराध सम्बन्धि अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्युरो (सीइआइबी)लाई पनि अनुसन्धान गर्न बैंकले पत्राचार गर्ने तयारी गरेको छ।
प्रहरीको प्रारम्भिक सोधपुछमा उनीहरुले फागुन महिनादेखि भल्टबाट रकम झिकेको बताएका छन्। प्रहरीले यसलाई स्वतन्त्ररुपमा पुष्टि गर्ने तयारी थालेको छ। त्यसो त फागुन अघि बैंकले गरेको अडिटमा कुनै गडबडी गरेको देखिएको छैन।
पौने ३ करोड रुपैयाँको अपचलनको मुद्दा भएकाले यस घटनामा अन्य कर्मचारी तथा फर्महरुको समेत संलग्नता हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। ठुला घटनामा कर्मचारीको संलग्नता खुल्छ। तर त्यो भन्दा अरु कसैको संलग्नतासम्म प्रहरी पुग्दैन।
यस्ता घटना बारम्बार दोहोरिइरहेका छन्। जसमा बैंक तथा राष्ट्र बैंकको सुपरिवेक्षणमा पनि प्रश्न उठ्ने गरेका छन्। २०८० असारमा सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको सिन्धु विकास बैंकको शाखाबाट पनि २ करोड ६८ लाख रुपैयाँ हिनामिना भएको थियो। शाखा प्रमुख रुक्शा श्रेष्ठ सहितका कर्मचारी समतिएका थिए। उनी शाखा स्थापनाकाल देखिकै कर्मचारी भएकाले हिनामिनाको लागि वातावरण बनेको देखिएको थियो।










