सडक विभागका कर्मचारीलाई मन्त्री दाहालले भने : बिग्रिएका पुल निर्माण गर्नु



बिजमाण्डू
२०८२ साउन २२ गते १९:१४ | Aug 7, 2025
सडक विभागका कर्मचारीलाई मन्त्री दाहालले भने : बिग्रिएका पुल निर्माण गर्नु

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजु फर्स्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

Tata
GBIME
Nepal Life

बुधबार र बिहिबार चलेको सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा कार्यक्रमको समापन सत्रमा उनले कार्य सम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका हुन्। गुणस्तरीय निर्माण कार्यलाई अघि बढाउन विभाग अन्तर्गत रहेका प्रयोगशालाहरुको क्षमता विकास गरि पूर्ण रुपमा संचालनको वातावरण बनाउन पनि उनले भनेका छन्।

पुल निर्माणको क्षेत्रमा देखिएका समस्यालाई मन्त्रालयले गम्भिर रुपमा लिएको उनले बताउँदै समस्याग्रस्त पुलको निर्माण कार्य अघि बढाउन विशेष ध्यान दिन आवश्यक रहेकोमा जोड दिए।

‘देश भरिमा निर्माण सुरु भई अलपत्र परेका, ठेक्का लागेर पनि सुरु नभएका वा पूरा नभएका, त्रुटी देखिएका पुलहरुको समस्या लामो समय सम्म रहन नदिनु,’ उनले भने।

राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका योजना, रुपान्तरणकारी कार्यक्रम जस्ता विशेष महत्वका क्षेत्रमा स्रोत साधनको अभाव हुन नदिने उनको प्रतिबद्धता थियो। यस्तै, उत्तर दक्षिण राजमार्ग, त्रिदेशीय करिडोर, राजश्व संकलनमा सहयोग पुग्ने संरचना, कृषि उपजको बजारीकरण लगायतमा सहयोग पुाग्ने आयोजना, योजनामा समेत विशेष ध्यान दिने उनले बताएका छन्।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले दशैं अघि नै देश भरिका सडक खाल्डा रहित बनाउने काम अघि बढाउन निर्देशन दिएका थिए। गत आर्थिक वर्षको पूँजीगत खर्चको नतिजाबाट उत्साही मात्र नभई थप नतिजा आउने गरि काम गर्न उनले भनेका छन्।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कार्यालय, कार्यालय प्रमुख तथा निर्माण व्यवसायीलाई पुरस्कृत गरिएको थियो।