काठमाडौं। अटो व्यवसायीहरुले आकर्षक अफरसहित नयाँ मोडलका गाडी ग्राहकमाझ ल्याएका छन्।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बुधबार सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा व्यवसायीहरुले २० लाख रुपैयाँसम्म छुट दिने गरी सवारीसाधन बिक्रीमा राखेका हुन्।
व्यवसायीहरुले विभिन्न ब्राण्डका नयाँ मोडलका गाडी लन्च गरेका छन्। ती गाडी ३ करोड रुपैयाँसम्मका छन्।
म्याकससको मिफा-७ एमपीभी, ओमोड एण्ड जेको जे-५, फोर्थिङ फ्राइडे, महिन्द्राका दुईवटा इभी बीइ-६ र एक्सइभी ९ई, बीवाइडीको सिगल लगायत नयाँ गाडी लन्च गरिएको हो।
मिफा-७ विद्युतीय गाडी विशेष अफरसहित १ करोड २५ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ। यो विद्युतीय कार आधिकारिक वितरक हिमालय मोटरेक्सले भित्र्याएको हो।
नाइमा अटो एक्स्पोमा मिफा-७ बुक गर्ने ग्राहकले १० लाख र इटेरोन-९ पिकअप बुक गर्नेले ५ लाख नगद छुट पाउने कम्पनीका प्रबन्ध निर्देशक सौरभ थापाले बताए। प्रिमियम कारका पारखीहरुका लागि मिफा-७ उपयुक्त भएको थापाले बताए।
मिफा-७ मा ९० किलोवाट आवरको ब्याट्री छ। यो ब्याट्रीले ६३५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।
ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ एसयूभी जेको जे-५ सार्वजनिक गरेको छ।
कम्पनीले नेपाली इभी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यसहित यो प्रिमियम एसयूभी ल्याएको हो। यसको मूल्य ६० लाख ९९ हजार रुपैयाँ तोकिएकामा नाइमा एक्स्पोमा अफरस्वरुप ५६ लाख ९९ हजार रुपैयाँ राखिएको छ।
यस्तै अफरस्वरुप ओमोडा इ५ को मूल्य ५६ लाख ९९ हजार र जे-५ को मूल्य ६५ लाख ९९ हजार राखिएको छ।
कम्पनीका अनुसार जे-५ एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ। यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध छन्। जसले सहरी र हल्का अफ-रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउने कम्पनीको दाबी छ।

जे-५ मा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६-कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्ट छन्।
जेको जे-५ को लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटर छ। यसमा १८-इन्च अग्लो एलोय ह्वील छ।
१५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवरको ब्याट्री प्याकबाट सञ्चालित यो एसयूभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लूएलटीपी सर्टिफाइड रेन्ज दिन्छ।
जेको जे-५ मा सुरक्षालाई उच्च प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। जेको जे-५ मा लेभल २ एडासका विशेषता छ जसअन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसीडब्लू), ब्लाइन्ड स्पट मनिटरिङ (बीएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सी ब्रेकिङ र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा छन्।
नाइमा एक्स्पोबाट नेपालीबजारमा नयाँ ब्राण्ड फोर्थिङ फ्राइडे भित्रिएको छ। आधिकारिक बिक्रेता लक्ष्मी इ मोबिलिटीले यो ब्रान्ड नेपाली बजारमा भित्र्याएको हो।
फोर्थिङ फ्राइडेको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ राखेको छ। कम्पनीले अर्को भेरियन्टको मूल्य ५४ लख ९६ हजार रुपैयाँ तोकेको छ। यो मूल्य नाइमा एक्स्पोमा मात्रै लागू हुने कम्पनीले जनाएको छ।
फोर्थिङ फ्राइडेमा ६४.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसले फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यसमा ९९ किलोवाट क्षमताको मोटर पावर छ। यसले २०१ ब्रेक हर्स पावर बराबरको पावर र ३४० एनएम टर्क उत्पादन गर्छ।
फोर्थिङ फ्राइडेको ड्यासबोर्डको प्रमुख विशेषतामा इन्फोटेनमेन्टका लागि १०.२५ इन्चको टचस्क्रिनसहितको डुअल-स्क्रिन सेटअप, इन्स्ट्रुमेन्ट प्यानल र मल्टी-इन्फोका लागि छुट्टै डिस्प्ले छ।
फोर्थिङ फ्राइडेमा एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्टेन्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम एडास समावेश छन्। यसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी र ३६०-डिग्री क्यामेरा जस्ता सुविधा पनि छन्।
एक्स्पोमा महिन्द्राका दुईवटा इभी लन्च गरिएको छ। महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले बीइ-६ र एक्सइभी ९ई लन्च गरेको हो।

कम्पनीका अनुसार बीई-६ का दुई र एक्सइभी ९ई का ३ भेरियन्ट नेपाली बजारमा उपलब्ध हुनेछन्।
बीई-६ को मूल्य ५७ लाख र एक्सइभी ९ई को मूल्य ६९ लाख रुपैयाँ तोकिएको छ। दुवै गाडीमा ९९ किलोवाटको मोटर छ। एक्सइभी ९ईको एउटा भेरिएन्टमा भने १९९ किलोवाटको मोटर छ।
दुवै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मका ब्याट्री प्याक छ। महिन्द्राको नयाँ गाडीमा अटो पार्किङसहित ब्याट्रीमा लाइफटाइम वारेन्टी छ। गाडी किन्दा स्वामित्व परिवर्तन नगरेको खण्डमा ब्याट्रीमा लाइफटाइम वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ।
ब्याट्री नै फेर्नु परेमा पनि त्यो जिम्मा कम्पनीको हुनेछ। तर, गाडीको स्वामित्व परिवर्तन गर्दा भने २ लाख किलोमिटर वा १० वर्ष मात्रै वारेन्टी दिइने कम्पनीले जनाएको छ।
अहिलेसम्म कुनै पनि ब्रान्डका गाडीको ब्याट्रीमा लाइफटाइम वारेन्टी छैन।
दुवै एसयूभीमा ५९ किलोवाट आवर र ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छन्। ब्याट्री १७५ किलोवाट डीसी फाष्ट चार्जर प्रयोग गरेर चार्ज गर्दा २० प्रतिशतबाट ८० प्रतिशत पुग्न २० मिनेट लाग्छ। यसलाई कम्पनीले सुपर फाष्ट चार्जर भनेको छ।

एक पटकको फुल चार्जमा गाडीले भेरियन्ट अनुसार ४५० देखि ५०० किलोमिटर रेन्ज प्रदान गर्छ।
गाडीको सनरुफमा पनि लाइटिङ दिइएको छ। यो एसयूभीमा डिस्को लाइट राखिएको छ। म्युजिक बजाउँदा गाडीको टेलल्याम्पसहित भित्रको एम्बियन्ट लाइट म्युजिकको टोनमा कलर चेन्ज भइ डिस्को जस्तो महोल बन्छ।
यसमा हार्मन कार्डनको साउन्ड सिस्टम भएको स्पिकर छ। यो स्पिकर एकदम राम्रो र धेरै लक्जरी मानिन्छ। गाडीमा ४५५ लिटरको बुट स्पेस पनि छ। जसले गर्दा परिवार वा साथीभाइ कतै घुम्न जाँदा धेरै सामान राख्न सकिन्छ। यस्तै अगाडि पनि केही सामान राख्न सकिने स्पेस छ।
गाडीमा १२.३ इन्चको ट्रिपल स्क्रिनका साथै २ वटा वायरलेस मोबाइल चार्जिङ छ। यस्तै अगाडि दुईवटा सिट भेन्टिलेटेड छ।
रिमोट पार्किङ अर्थात अटो पार्किङ, हेडअप डिस्प्ले लगायत फिचर छन्। भारतमा उत्पादित अधिकांश गाडीमा २ वटा सेन्सर क्यामेरा मात्र रहेकामा महिन्द्राले नयाँ एसयूभीमा अटो पार्किङका लागि अगाडि र पछाडि ६ वटा पार्किङ सेन्सर राखेको छ।
अटो पार्किङका लागि कि अर्थात साँचो (कि फोब)लाई रिमोटका रुपमा अनिवार्य गरिएको छ। गाडी अटो पार्किङ गर्ने हो भने टच स्क्रिनमा पार्किङ गर्ने स्पेस सेलेक्सन गरेपछि पोइन्ट आउट गरेर कि फोब प्रयोग गर्नुपर्ने हुन्छ। जसले गाडी पोइन्ट आउट गरेको लोकेसनमा अटो पार्किङ हुन्छ। रिमोट चलाए जस्तै कि फोबको माध्यमबाट गाडी अटो पार्क गर्न सकिन्छ। कि फोब भने गाडी नजिकै राख्नु पर्ने हुन्छ।
यस्तै लक्जरी कारमा हुने हेडअप डिस्प्ले उपलब्ध छ। यो फिचर नेपालमा अहिले बीवाइडी सिल, टेस्ला जस्ता गाडीमा मात्रै देख्न पाइन्छ।
नाइमा अटो शोमा बीवाइडीको सिगल ह्याचब्याक सेगमेन्टमा ‘हट केक’ बनेको छ। कम्पनीले गाडीको मूल्य २८ लाख ९५ हजार र अर्को भेरियन्टको ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

यो गाडीसँग प्रतिस्पर्धा गर्न नाइमा एक्स्पोमा डिपल लुमिन, रेनो क्वीड र एलएस अटोको एलईभी०५ पनि आउँदैछन्। साथै, टाटाको टियागो इभी, कायीको इक्युट फोर र लिपमोटरको टी०३ पनि बजारमा छन्। यी सबै ह्याचब्याकबीच अटो शोमा प्रतिस्पर्धा हुने देखिन्छ। तर, नाइमा एक्स्पोमा बीवाइडी सिगल नै लोकप्रिय बन्ने आकलन गरिएको छ।
बीवाइडीले सिगल(एटो १) मा ४५ किलोवाट क्षमताको मोटर राखेको छ। यसमा सेफ्टी सेगमेन्ट अन्तर्गत ६ वटा एयरब्याग छन्। यसले वर्ल्ड कार अफ अवार्डस् पनि हात पारेको छ। साथै यो वर्ल्ड अर्वन कार पनि बनेको थियो।
चिनियाँ कम्पनी लिपमोटरको नयाँ गाडी बी-१० एसयूभी पनि नाइमा एक्स्पोमा लन्च भएको छ। लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले बी-१० को मूल्य यसअघि ६० लाख रुपैयाँ तोकेकामा अहिले अफरस्वरुप ४९ लाख ९९ हजारमा बिक्रीमा राखिएको छ।
बी-१० एसयूभी १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरमा उपलब्ध छ। यसको पिकटर्क २४० न्यूटन मिटर छ। यसमा ६७.१ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसले फुल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
यसको ग्राउन्ड क्लियरेन्स १८० एमएमको छ। यो गाडी लिपमोटरको इभी प्लेटफर्म ३.५ आर्किटेक्चरमा निर्माण भएको हो। यसमा एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडास) पनि छ। जसमा स्मार्ट पार्किङसहितका १६ वटा फङ्सन छन्।

बी-१० मा १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र टु-स्पोक डी-आकारको स्टेयरिङ ह्वील छ। सेन्टर कन्सोलमा दुईवटा वायरलेस चार्जिङ प्याड छन्। बी१० मा १.८३-वर्ग-मिटर सनरुफ र १२ वटा स्पिकरहरु छन्। यसअघि लिपमोटर सी१० र टी०३ ले नेपालमा राम्रै बजार लिएका थिए।
बी-१०को अर्को भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ राखिएको छ।
यस्तै सी-१० गाडी ६४ लाख ९९ हजार अफरमा राखिएको छ। यसको वास्तविक मूल्य ७२ लाख रुपैयाँ हो। टी०३ गाडी अफरमा २७ लाखा ९९ हजार रुपैयाँमा बिक्रीमा राखिएको छ। यसको वास्तविक मूल्य ३४ लाख रुपैयाँ हो। यो गाडी सी-१० मोडलभन्दा केही एमएम मात्रै लामो छ।
निसान लिफ २० लाख रुपैयाँ डिस्काउन्ट दिएर ४५ लाख रुपैयाँमा बिक्रीमा राखिएको छ।
जिकर एक्समा १५ लाख रुपैयाँ डिस्काउन्ट दिइएको छ। यो गाडीको वास्तविक मूल्य ८४ लाख ९९ हजार रहेकामा नाइमा एक्स्पोमा ६९ लाख ९९ हजारको अफरमा बिक्रीमा राखिएको छ।
एक्स्पो उद्घाटनका नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको बताइन्। उनले प्रत्यक्ष रोजगारीका साथै मोबिलिटीले शिक्षा, स्वास्थ्य, पर्यटन र वित्तीय सेवामा पहुँच बढाएर हजारौंलाई अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको बताइन्।
अटो क्षेत्रले प्रत्यक्ष/अप्रत्यक्षरुपमा १२ लाख ४० हजारभन्दा बढीलाई रोजगारी दिएको छ। कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रको ७.१३ प्रतिशत योगदान छ। कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले अटाे क्षेत्रलाई प्रवर्धन गर्न सरकारले करका दरमा हेरफेर नगरेको बताए।











