प्रतिनिधि कार्यालय खोल्नुअघि नै आइसीआइसीआइ बैंकको नबिलसँग साझेदारी



बिजमाण्डू
२०७६ पुष २० गते ११:४५ | Jan 5, 2020
प्रतिनिधि कार्यालय खोल्नुअघि नै आइसीआइसीआइ बैंकको नबिलसँग साझेदारी


काठमाडौं। नेपाल र भारतका निजी क्षेत्रका दुई ठूला बैंकबीच साझेदारी भएको छ। नबिल बैंक र भारतको आइसीआइसीआइ बैंकबीच साझेदारी भएको हो।

Tata
GBIME
Nepal Life

नेपालमा प्रतिनिधि कार्यालय खोल्ने तयारी गरिरहेको आइसीआइसीआइ बैंकले नबिल बैंकलाई लगानी र ब्यापार लगायतका क्षेत्रमा सघाउने छ। 

सम्झौताले दुई संस्थाबीच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स) र ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन फ्रेमवर्क (ढाँचा) सिर्जना गर्ने प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए।

सम्झौतापत्रमा शाह र आइसीआइसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले हस्ताक्षर गरेका छन्। नबिल बैंकको केन्द्रीय कार्यालयमा समझदारी भएको हो।

'नेपालमा भारतीय धेरै परियोजनाहरु सञ्चालनमा छन्, जसमा आइसीआइसीआइ बैंकले लगानी गरिरहेको छ,' शाहले बिजमाण्डूसँग भने, 'अब ती परियोजनाहरूलाई नबिलले स्थानीय बैंकिङ सुविधा उपलब्ध गराउने छ।'

उनले नबिल बैंक मर्जरका लागि गम्भीर रहेको भन्दै मर्जर नभएको अवस्थामा बैंकलाई थप सुदृढ बनाउँदै लैजान पनि अहिले भएको साझेदारीले सहयोग पुग्ने बताए। बैंकले खासगरी सूचना प्रविधि र रेमिटेन्सको क्षेत्रमा बिस्तारित काम गर्ने भएको छ। 

सम्झौतापछि दुई बैंकले आफ्ना ग्राहकको व्यापार तथा ट्रेजरी आवश्यकतामा निर्वाध सहयोग गर्न एक आपसमा निकट सहकार्यका साथ काम गर्ने छन्। नबिल बैंकले नेपालमा बलियो बजार पहुँच बनाएको छ भने आइसीआइसीआइ बैंकले बैंकिङ तथा फ्रेन्चाइज विस्तार (भारतभरका साथै केही प्रमुख विश्व बजार) मा विशिष्टता हासिल गरेको छ। 'सहकार्य गर्दा ‘जोइन्ट स्ट्रेन्थ’ (संयुक्त शक्ति) को प्रभावकारी रूपमा लाभ उठाउन  सकिन्छ,' शाहले भने। 

साझेदारीपछि सिगटियाले नेपाली ग्राहकलाई आइसीआइसीआइ बैंकको उपस्थिती भएका भारत तथा अन्य मुलुकका स्थानहरूसम्म जोड्न सक्रिय रूपमा काम गर्ने बताइन्। 

आइसीआइसीआइ बैंकले भारतमा ५२२८ शाखा तथा १५१५९ एटिएम काउन्टरहरू, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र फोन बैंकिङ लगायत मल्टि–च्यानल डेलिभरी नेटवर्कमार्फत ठूलो संख्यामा रहेका आफ्ना ग्राहक (कस्टुमर बेस) लाई सेवा दिँदै आएको छ। नबिल बैंकको पनि ९७ वटा शाखा छन्।

आइसीआइसीआइ बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोल्नका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाइसकेको छ। बैंकले नेपाल प्रमुख नियुक्त गर्ने प्रक्रियासमेत थालिसकेको छ।