काठमाडौं। अहिलेका श्रममन्त्री शरतसिंह भण्डारीले २०६९ असारमा गठन गरेको राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)मा सक्रिय रहँदा दिनेश साहको दीपेन्द्र अग्रवालसँग चिनजान भयो।
सेयर बजारका ‘किङ’ भनिएका दीपेन्द्र र साधारण सेयर कारोबारी दिनेशबीच केही समयमै सम्बन्ध राम्रो भयो। साधारण कारोबारबाटै सेयरमा रस बसेपछि दिनेशलाई दीपेन्द्रको करोडौंको कारोबार र पोर्टफोलियोले लोभ्यायो।
दीपेन्द्र र दिनेशबीचको सम्बन्ध विस्तारमा अरु फ्याक्टर पनि जोडिएका छन्। दीपेन्द्रले जनकपुरकी युवतीसँग विवाह गरेपछि उनको ससुरालीमा आवतजावत बढ्यो। जसले गर्दा दीपन्द्रसँग दिनेशको सम्बन्ध बढ्न पुग्यो।
तर, दीपेन्द्रसँगको त्यही सम्बन्ध अहिले दिनेशका लागि अभिशाप बन्न पुगेको छ। दीपेन्द्रलाई विश्वास गरेर दिनेशले दिएको करोडौं रुपैयाँ फसेको छ। त्यो पैसाकै लागि दिनेशले दीपेन्द्रविरुद्ध उजुरी दिए।
६१ वर्षका दिनेशलाई अहिले आफ्नो साढे ६ करोड रुपैयाँ फिर्ता आउने/नआउने चिन्ताले सताएको छ।
दिनेश राजनीतिमा सक्रिय व्यक्ति हुन्। उनी २०७० सालमा संविधान सभा सदस्य थिए। तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीले समानुपातिकतर्फ आफूले पाएको तीन सिटमा दिनेशलाई सभासद बनाएको थियो।
दिनेशले एक वर्षअघि जब दीपेन्द्रसँग जोडिएर सेयरको कारोबार गर्न थाले, त्यसपछि निन्द्रा नै हराएको छ। ६ महिनादेखि उनीहरू एकले अर्कोविरुद्ध उजुरी हाल्दै प्रहरीदेखि सरकारी वकिल कार्यालयसम्म पुगेका छन्।
दीपेन्द्रविरुद्ध अहिले प्रहरीले ठगी र आपराधिक विश्वासघातमा अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध दिनेशले ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको उजुरी दिएका छन्।
बैंक खातामध्ये दिनेशबाट १८ करोड रुपैयाँ दीपेन्द्रका विभिन्न बैंक खातामा जम्मा भएको देखिएको छ। जसमध्ये ६ करोड ४५ लाख रुपैयाँ फिर्ता नआएको देखिएको हो। यसैमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
‘हामीले तीन पटक म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं। रकम दिनेशको खाताबाट गएको देखिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले भने।
दीपेन्द्रको अफिसमा छोरालाई काम
दीपेन्द्रले दिनेशका छोरालाई काम सिकाउने भन्दै करिब ११ महिना अगाडि आफ्नो अफिसमा जागिर दिए। टोखामा रहेको कार्यालयमा दिनेशका छोरा नितिनकुमार साह जान थाले। त्यहाँ नितिन सेयर कारोबारी पनि बने। सुरुमा सेयरबाट केही नाफा भयो। त्यसपछि नितिनलाई दीपेन्द्रले देशविदेश पनि घुमाए।
‘काम सिकाउने भन्दै केही समय मेरो छोराले उसको कम्पनीमा काम गरेको हो। तर, उसले विभिन्न प्रभावमा मारेर ठूलै सेयरमा लगानी गर्न लगायो,’ दिनेशले सुनाए।
२२ नम्बर ब्रोकर (सिप्रवी सेक्युरिटी)मा नितिन र दिनेशको खाताबाट कारोबार हुने गरेको थियो। तर, त्यसको सबै ‘मास्टर माइन्ड’ भने दीपेन्द्र नै थिए। दिनेश र नितिनको नामबाट २८ करोड रुपैयाँको कारोबार भएको थियो। सेयर दिनेशको खातामा आउँथ्यो। केही रकम दीपेन्द्र र बाँकी दिनेशले नै हाल्थे। त्यसपछि दिनेशले दीपेन्द्रको खातामा रकम फिर्ता पठाउन थाले।
दीपेन्द्रको कारोबार करोड करोडमा हुन्थ्यो। कारोबार देखेर दिनेश नडराएका भने होइनन्। सम्पत्ति शुद्धीकरण लगायतका निकायमा जोडिने होकि भन्ने चिन्ता पनि थियो।
‘उसले दबाबमा पारेर छोरा र मेरो खाताबाट सेयर कारोबार गर्यो। त्यहींबाट कुरा बिग्रियो,’ दिनेशले भने।
दीपेन्द्रकी पत्नी मिता मुरारका अग्रवाल र बहिनी ज्योति अग्रवालको नाममा रहेको खातामा दिनेशको खाताबाट रकम जम्मा भएको देखिन्छ। मिताको नाममा १ करोड र ज्योतिको नाममा १५ करोड रुपैयाँ जम्मा भएको देखिएको हो।
प्रहरीका अनुसार बाँकी दुई करोड भने दीपेन्द्रको खातामा आएको देखिएको छ। प्रहरीले दीपेन्द्रकी पत्नी र बहिनीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
अनुसन्धान नसकिंदै हिरासतमुक्त
पैसाको विषयमा विवाद भएपछि दीपेन्द्र प्रहरीमा उजुरी दिन पुगे। दीपेन्द्रले दिनेश मात्र नभएर ब्रोकर नम्बर २२ विरुद्ध पनि ठगीको उजुरी दिए। उजुरी उनले पहिले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा दिए।
त्यो उजुरी जिल्ला प्रहरी परिसर काठमाडौंलाई जानकारी नभई एकाएक सिंहदरबार वृत्तमा पुग्यो। परिसरले यसअघि सिप्ला कम्पनीको १६ करोड विवादमा दीपेन्द्रलाई बोलाएर सोधपुछ गरेको थियो। परिसरलाई पत्तो नदिई सिंहदरबार वृत्तबाट दीपेन्द्र मुद्दा चलाउने खेलमा थिए।
‘उसले कता कता मिलाएर एक्कासी वृत्तमा उजुरी लगेछ। त्यसपछि वृत्तबाट जानकारी आएपछि हामीले थाहा पाएको हो। यो एकदम सातिर छ,’ परिसरका एक उच्च प्रहरी अधिकृतले सुनाए।
ब्रोकर कम्पनी सिप्ला सेक्युरिटिजले पनि दीपेन्द्रले १६ करोड रुपैयाँ नदिएको भन्दै उजुरी दर्ता गरायो। त्यसपछि केस सिंहदरबारबाट परिसरमा आयो। अनुसन्धान गर्दै जाँदा दिनेश र २२ नम्बर ब्रोकर होइन, दीपेन्द्र नै समातिए।
प्रहरीले दीपेन्द्रलाई साउन ५ गते टोखाबाट पक्राउ गर्यो। पक्राउ परेको दिन नै अदालतले दीपेन्द्रलाई ३ दिन हिरासतमा राख्न अनुमति दियो।
त्यसपछि फेरि तीन दिनपछि म्याद लिन जाँदा अदालतले एक दिनभन्दा थप्न मानेन। सामान्यतया अनुसन्धान अन्तिम चरणतिर हुँदा मात्र अदालतले छोटो समयको म्याद दिन्छ। तर, दीपेन्द्रका हकमा प्रहरीले बयान लिएकै थिएन।
त्यसपछि भने अदालतले ४ दिन म्याद दियो। त्यो समय सकिएपछि पुनः म्याद लिन जाँदा सरकारी वकिलको सिफारिसमा अदालतले एक दिनको थप्यो। त्यो म्याद मंगलबार सकिएको थियो। अदालतले बुधबार म्याद थप गर्न मानेन। दीपेन्द्र हिरासतमुक्त भए।










