काठमाडौं । संघीय संसद् मातहतका विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराएका सांसदहरुसँग छलफल गर्ने कार्यसूची छ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यक्रम छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ।
विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची छ। सार्वजनिक नीति था प्रत्यायोजित विधायन समितिमा कानुन, न्याय तथा संसदीय मामिलामनत्रीसँग छलफल गर्ने कार्यसूची छ। रासस











