बुक बिल्डिङबाट आइपीओ निष्कासन गर्न रियल सेक्टरका कम्पनीकै अरुची, प्रावधान हेरफेर गर्दै सेबोन



सुनिल कुँवर
२०८२ साउन १३ गते १३:३३ | Jul 29, 2025
बुक बिल्डिङबाट आइपीओ निष्कासन गर्न रियल सेक्टरका कम्पनीकै अरुची, प्रावधान हेरफेर गर्दै सेबोन

काठमाडौं। सेयर बजारमा रियल सेक्टरका कम्पनी भित्र्याउन ल्याइएको आइपीओ निष्कासनमा बुक बिल्डिङ विधि निष्कृय बनेको छ। कम्पनीहरुले नै रुची नदेखाएपछि बुक बिल्डिङ विधि निष्कृय बन्न पुगेको हो।

Tata
GBIME
Nepal Life

सेबोनमा अहिले आइपीओको पाइपलाइनमा ७७ वटा कम्पनी छन्। तीमध्ये १९ वटा उत्पादनमूलक क्षेत्रका हुन्। तर, तीमध्ये कुनैले पनि बुक बिल्डिङ विधि प्रस्ताव गरेका छैनन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ६ वर्षअघि बुक बिल्डिङबाट आइपीओ जारी गर्ने व्यवस्था गरेको थियो। आइपीओ निष्कासनका लागि यो विधि सबैभन्दा वैज्ञानिक मानिन्छ।

आइपीओ निष्कासनमा बुक बिल्डिङलाई प्राथमिकता दिन प्रतिनिधि सभाको लेखा समितिले २०८० पुसमा सेबोनलाई निर्देशन दिएको थियो। ‘तर, बुक बिल्डिङमा कम्पनीको आकर्षण देखिएको छैन। किनभने अहिलेसम्म एउटा पनि आवेदन प्राप्त नभएको कुरा अवगत गराउन चाहन्छु,’ अर्थ समितिको बैठकमा केही दिनअघि सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले भने।

सेबोनले सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनी भित्र्याउन तथा आइपीओ निष्कासनलाई पारदर्शी बनाउन भन्दै २०७६ मा धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरेर बुक बिल्डिङको व्यवस्था गरेको थियो।

अहिलेसम्म बुक बिल्डिङ विधिबाट सर्वोत्तम सिमेन्टले मात्र आइपीओ निष्कासन गरेको छ। बुक बिल्डिङको आइपीओ लामो समयदेखि होल्ड हुँदा नयाँ कम्पनीको इन्ट्री रोकिएको मर्चेन्ट बैंकरहरु बताउँछन्।

‘बुक बिल्डिङबाट आइपीओ निष्कान गर्न लागेका कम्पनी नै विवादै विवादमा परे। निष्कासनको अवधि लामो भयो। त्यसले नयाँ कम्पनीको इन्ट्रीमा अवरोध भएको हो,’ प्रभु क्यापिटलका योजना प्रमुख सौगात पन्तले भने, ‘एउटा कम्पनीले ल्याए पनि अर्कोको होल्ड छ। ब्रेकथ्रु नै भएन। त्यसैले बुक बिल्डिङबाट सेयर निष्कासन गर्न चाहेका कम्पनीले पनि चासो दिएनन्।’

सेबोनका कर्मचारी पनि बुक बिल्डिङको आइपीओ निष्कासनमा लामो समय लागेको देखेर नयाँ कम्पनीले रुची नदेखाएको बताउँछन्।

‘बुक बिल्डिङबाट सेयर निष्कासका लागि कम्पनीका प्रतिनिधिले सोधखोज त गर्छन्। तर, आवेदन दिएका छैनन्। यसअघि भएको विवाद र समय बढी लाग्ने कारण रुची नदेखाएको देखिन्छ,’ सेबोनका एक अधिकृतले भने।

बुक बिल्डिङको अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्कासन विवादका कारण अहिले होल्डमा छ। कम्पनीले संस्थागत लगानीकर्तालाई डेढ वर्षअघि २०८० माघमा आइपीओ बेचे पनि वित्तीय विवरण म्यानुपुलेसन गरेका कारण सर्वसाधारणलाई निष्कासन गर्न अनुमति पाएको छैन।

कम्पनी नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रकमको स्रोत नै उल्लेख नगरी उच्च नेटवर्थ देखाएर महँगो मूल्यमा संस्थागत लगानीकर्तालाई बिक्री गरेकाले विवादित बनेको हो।

त्यसअघि सर्वोत्तम सिमेन्टको सेयर खरिद बिक्रीमा सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना आफैं संलग्न हुँदा उनी बर्खास्तगीमा परेका थिए।

कम्पनीहरु आकर्षित नभएपछि सेबोनले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रवाधान हेरफेर गर्न लागेको छ। सेबोनले धितोपत्र दर्ता तथा निष्कासन नियमाली संशोधन गरेर प्रावधान हेरफेर गर्न लागेको हो।

सेबोन अध्यक्ष सन्तोषनारायणले नियमावली संशोधनका लागि गठन गरेको अध्ययन समितिले बुक बिल्डिङको आइपीओ निष्कासनमा सेयर हिस्सा उल्ट्याएर सर्वसाधारणलाई ४० र संस्थागत लगानीकर्ताका लागि ६० प्रतिशत कायम गर्न सुझाव दिएको छ।

बुक बिल्डिङबाट निष्कासन गर्ने कम्पनीले अहिले आइपीओको ४० प्रतिशत संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सर्वसाधारणमा बिक्री गर्नुपर्ने व्यवस्था छ। संस्थागत लगानीकर्तामा बिक्री गरिसकेपछि कायम मूल्यको १० प्रतिशत घटाएर सर्वसाधारणमा निष्कासन गर्नुपर्छ।

बुक बिल्डिङमा आइपीओ निष्कासनको अनुमति पाउन लगातार तीन वर्षदेखि खुद नाफामा रहेको हुनुपर्ने तथा कम्पनीको प्रति सेयर नेटवर्थ प्रति सेयर चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत रहेको हुनुपर्ने व्यवस्था छ।

पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले गत चैतमा सरकारलाई बुक बिल्डिङको आइपीओमा नीतिगत व्यवस्था हेरफेर गर्न भनेको थियो।

‘प्रिमियम र बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासनका लागि पारदर्शी विधि बनाउने र यस सम्बन्धमा जनचेतना बढाउनु पर्ने,’ आयोगको सुझाव प्रतिवेदनमा उल्लेख छ।

आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले बनाएको कार्ययोजनामा ६ महिनाभित्र बुक बिल्डिङ र प्रिमियम मूल्यको आइपीओ निष्कासन विधिमा सुधार गर्ने भनिएको छ।