काठमाडौं। नेपाली कांग्रेसले रुपन्देही-३ मा हुने आसन्न उपनिर्वाचनमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी सत्ता सहयात्री एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी भएको निष्कर्ष निकालेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले एमाले र रास्वपा प्रमुख प्रतिस्पर्धी भएको निष्कर्ष निकालेको हो।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बसेको बैठक उपनिर्वाचनबारे केन्द्रित भएको बताए।
‘मुख्यत रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल भयो,’ बैठकपछि प्रमुख सचेतक घिमिरेले भने, ‘हाम्रो प्रमुख चुनौतीका रुपमा एमाले र रास्वपा देखिएका छन्।’
२०७९ मंसीरमा भएको निर्वाचनमा रुपन्देही-३ मा राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए। बोहराले ३६ हजार ६४८ र कांग्रेस नेता बालकृष्ण खाणले ३४ हजार ६ मत पाएका थिए।
बोहराको गत चैत १९ गते निधन भएका कारण यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
खाण यसपटक पनि उम्मेदवार बन्ने प्रयासमा छन्। उनीविरुद्ध भुटानी शरणार्थी प्रकरणमा अदालतमा मुद्दा विचाराधीन छ। घिमिरेले यसअघि प्राविधिक गडबडीका कारण पराजय बेहोर्नुपरेको भन्दै यसपटक जित्ने गरी अघि बढ्नुपर्नेमा सबैजसो नेताले जोड दिएको बताए।
बैठकमा कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाण, लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन र केन्द्रीय सदस्य बालकृष्ण खाणले रूपन्देही-३ को अवस्थाबारे ब्रिफिङ गरेको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए।
रुपन्देही-३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गरिंदैछ। त्यसका लागि निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ।











