कमजोर कम्पनीको सेयर मूल्य उचाल्न सामाजिक सञ्जाल दुरुपयोग, सेबोनको नियमन शून्य



सुनिल कुँवर
२०८२ साउन ५ गते १२:३५ | Jul 21, 2025
कमजोर कम्पनीको सेयर मूल्य उचाल्न सामाजिक सञ्जाल दुरुपयोग, सेबोनको नियमन शून्य

काठमाडौं। सिटी होटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हकप्रद सेयर निष्कासनको अनुमति दिन लागेको भन्दै आइतबार बिहानै ह्वाट्स एप ग्रुपहरुमा केहीले सेयर किन्न उक्साउन थाले। कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिन लागेको सूचना बाहिरिएपछि दोस्रो बजारमा सेयर मूल्य बढ्न थाल्यो।

Tata
GBIME
Nepal Life

सेबोनले दिउँसो हकप्रद सेयर निष्कासन अनुमति दिएको सूचना सार्वजनिक गर्‍यो। सेबोनबाट आइपीओ निष्कासन अनुमति पाएको सूचना बाहिरिनुअघि नै उकालो लाग्न थालेको कम्पनीको मूल्य दिउँसो १० प्रतिशतसम्म बढ्यो।

नेप्से परिसूचक अन्तिममा स्थिर हुँदा सिटी होटलको सेयर भाउ ८.९५ प्रतिशतले बढेर प्रति कित्ता ९८८ रुपैयाँ कायम भयो। आइतबार कम्पनीको १५ करोड ४६ लाख रुपैयाँको १ लाख ५८ हजार ९१२ कित्ता सेयर किनबेच भएको छ। यो कारोबार रकम पछिल्लो एक वर्षयताकै धेरै हो।

गत आर्थिक वर्ष साउन २१ गते सिटी होटलको २५ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएकामा त्यसयता निकै सुस्ताएको थियो।

१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको होटलले त्यसको ८० प्रतिशत हकप्रद सेयर बिक्री गर्न २०८१ फागुन १७ गते सेबोनमा आवेदन दिएको थियो।

बैंकको ऋण दायित्व आम्दानीले थेग्न नसकेपछि हकप्रद निष्कासनको जुक्ति लगाएको होटलले ५ महिनापछि स्वीकृति पायो। गत वर्ष चैतसम्म होटल १७ करोड ३८ लाख रुपैयाँ खुद घाटामा छ।

होटलले नाफा कमाउन नसक्दा वित्तीय सूचक नाजुक छन्। चैतसम्म प्रति सेयर आम्दानी १०.३८ रुपैयाँ ऋणात्मक छ। प्रति सेयर नेटवर्थ ७९.९३ रुपैयाँ छ। २०८० वैशाखमा आइपीओ निष्कासन गरेको होटलले सेयरधनीलाई अहिलेसम्म कुनै प्रतिफल दिएको छैन।

ऋण भुक्तानी गर्नका लागि होटलले निष्कासन गर्न लागेको हकप्रद सेयर बजारमा मूल्य उचाल्ने फण्डा बनेको छ। सामाजिक सञ्जालका ग्रुपमा मूल्य बढाउन गिरोह नै सक्रिय छन्।

सिटी होटल मात्रै होइन, आइतबार नै हकप्रद सेयर निष्कासनको अनुमति पाएको शिव श्री हाइड्रोपावरको मूल्यमा पोजेटिभ सर्किट लाग्यो। कम्पनीको सेयर मूल्य प्रति कित्ता २९० रुपैयाँ पुगेको छ।

आइतबार कम्पनीको २२ करोड ७९ लाख रुपैयाँको ८ लाख ७ हजार ७८१ कित्ता सेयर किनबेच भयो।

१ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको शिव श्रीले सतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएको छ। २०७६ कात्तिकमा आइपीओ निष्कासन गरेको कम्पनीले सेयरधनीलाई अहिलेसम्म लाभांश दिएको छैन।

गत आवको दोस्रो त्रैमाससम्म कम्पनी ६ करोड १५ लाख रुपैयाँ नोक्सानीमा छ। प्रति सेयर आम्दानी ८.३४ रुपैयाँ ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ ११.९४ रुपैयाँ छ। अरु सूचक पनि नाजूक छन्। तैपनि हकप्रद सेयरलाई लिएर कम्पनीको मूल्य बजारमा उचालिएको छ।

खराब वित्तीय सूचक रहेका र लगानीकर्तालाई प्रतिफल दिन नसक्ने कम्पनीको सेयर मूल्य अस्वाभाविकरुपमा उचाल्न विभिन्न सामाजिक सञ्जालमा ग्रुप बनाइएको छ।

कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्तावसहित साधारण सभा बोलाएपछि सेबोनबाट अनुमति पाउनुअघि नै मूल्य बढाउन यस्ता ग्रुपले ‘पब्लिक पोलिङ’ नै खडा गर्ने गरेका छन्।

केही समयअघि कालिञ्चोक दर्शन कम्पनीको मूल्य बढाउन सेयर होल्ड गर्न भन्दै सोही गिरोहले ह्वाट्स एप ग्रुपमा म्यासेज गरेको थियो।

त्यतिबेला मूल्य उचालिएको कालिञ्चोकले हकप्रद सेयर निष्कासन गर्न सेबोनबाट स्वीकृति भने पाएको छैन। सामाजिक सञ्जालमा सक्रिय संगठित गिरोहले हकप्रद सेयर निष्कासन र लाभांश वितरण गर्न लागेका कम्पनी मात्रै होइन, अरु कम्पनीको समेत मूल्यमा प्रभाव पार्ने गरी सामूहिक रुपमा खरिदबिक्रीका लागि उक्साउने गरिरहेको पाइन्छ।

सेबोनका पूर्वकार्यकारी निर्देशक निरज गिरी सामाजिक सञ्जालबाट सेयर मूल्यलाई नै प्रभावित पार्ने खालका गतिविधि नियमनको दायरा बाहिरै रहेको बताउँछन्।

‘धितोपत्र सम्बन्धी ऐन, २०६३ मा बने पनि अध्यादेशको रुपमा २०५८ मै आएको हो। त्यतिखेर अहिलेको जस्तो इन्टरनेट र सामाजिक सञ्जाल थिएन। त्यसैले ऐनले यस्ता गतिविधि सम्बोधन गरेन,’ उनले भने, ‘कम्पनीको सूचना पहिल्यै लिएर सेयर कारोबारलाई प्रभावित गर्नु इन्साइडर ट्रेडिङ हो। सेयर मूल्यलाई नै प्रभावित पार्ने यस्ता गतिविधिलाई सेबोन र नेप्सेले नियमन गर्नु जरुरी छ। संसद्‍मा रहेको नयाँ विधेयकले परिभाषित गर्नुपर्छ।’

हकप्रद सेयर निष्कासन गर्दा कम्पनीको पुँजी बढ्छ। पुँजी वृद्धि अनुसार कम्पनीले व्यवसाय बढाउन नसके उसले लगानीकर्तालाई प्रतिफल दिन सक्दैन।

त्यसैले हकप्रद सेयरले कम्पनीको पर्फर्मेन्सलाई नै घटाउने गरेको वित्तीय क्षेत्रका जानकारहरु बताउँछन्। तर, १०० रुपैयाँमा किनेको हकप्रद सेयर दोस्रो बजारमा कारोबारमा आउँदा समायोजनपछिको सेयर मूल्यमा बेच्न पाइने भएपछि खरिदका लागि आकर्षण हुने गरेको छ।

सामाजिक सञ्जालका ग्रुपमा हकप्रद सेयर निष्कासनअघि कम्पनीको मूल्य उचाल्न सेयर होल्ड गर्न उक्साउने मात्रै होइन, पोल नै खडा गर्ने गरिएको छ।

कम्पनीको मूल्य प्रभावित पार्न सामाजिक सञ्जालबाट भइरहेको चलखेललाई नियमन गर्न कानुनी आधार र प्राविधिक जनशक्तिको अभाव रहेको सेबोनका कर्मचारीहरु बताउँछन्।

सेबोनका प्रवक्ता निरञ्जय घिमिरे धितोपत्र ऐन विपरीतका कामहरु भएको पाइए कारबाहीको प्रक्रिया अगाडि बढाइने बताउँछन्।

‘धितोपत्र सम्बन्धी कानुनले गरेका व्यवस्थाहरुको उल्लंघन गरेको पाइएमा सेबोनले कारबाही प्रक्रिया अगाडि बढाउँछ,’ उनले भने।

पोहोर असारमा सेयर बजार उकालो लागेका बेला सामाजिक सञ्जाल क्लब हाउसमा दीपेन्द्र अग्रवालले लोक्याप कम्पनीको सेयर खरिद गर्न लगानीकर्तालाई उकासेका थिए। उनको भर परेर नेपाल फाइनान्समा लगानी गरेकाहरु डुबानमा परेका थिए।