विदेशी पैसा ल्याउन बैंकहरूले थाले पहल, जोखिम घटाउन सहुलियत माग



बिजमाण्डू
२०७६ मंसिर १० गते ११:२० | Nov 26, 2019
विदेशी पैसा ल्याउन बैंकहरूले थाले पहल, जोखिम घटाउन सहुलियत माग

Tata
GBIME
Nepal Life

काठमाडौं। आन्तरिक स्रोतबाट मात्रै निक्षेप जोहो गर्न कठिन हुन थालेपछि सानिमा बैंकले विदेशी संस्थाहरूबाट पैसा भित्र्याउन पहल गरिरहेको छ। ‍सानिमाले विदेशी बैंकसहित केही लगानी तथा पुँजी कम्पनीहरूसँग ऋणका लागि कुराकानी गरेको हो। 

सानिमासँगै यतिबेला माछापुच्छ्रे बैंकले पनि विदेशी संस्थाबाट पैसा ल्याउन पहल गरिरहेको छ। उसले गैरआवासीय नेपालीबाट पनि पैसा भित्र्याउन कुराकानी गरिरहेको हो। 

राष्ट्र बैंकले २१ प्रतिशतको ऋण बिस्तार गर्नका लागि आन्तरिक स्रोतमात्रै पर्याप्त नहुने भन्दै बाह्य ढोका पनि खोलिदिएपछि बैकहरू त्यतातिर लागेका हुन्। पोहोरसम्म राष्ट्र बैंकले विदेशी बैंकहरुबाट मात्रै ऋण लिन पाउने ब्यवस्था गरेको थियो। यसपाली पुरानो नीतिलाई थप फराकिलो पार्दै गैरआवासीय नेपालीका साथै विदेशी लगानी कम्पनीहरूबाट पनि पैसा ल्याउन पाइने ढोका खोलिदिएको छ।

पोहोर नीति आउँदा एनएमबी र केही लघुवित्त संस्थाहरुले अन्तर्राष्ट्रिय वित्त निगमबाट पैसा ल्याएका थिए। तर, निगमले थोरै-थोरै मात्र पैसा उपलब्ध गराउँछ। राष्ट्र बैंकले निगमबाहेक पनि पैसा ल्याउन बाटो खोलिदिएको हो। बैंकहरुले प्राथमिक पूँजीको सतप्रतिशत ऋण ल्याएर नेपालमा लगानी गर्न पाउँछन्। 'अहिले हामी मात्रै होइन, धेरै बैंक विदेशबाट पैसा ल्याउनका लागि पहल गरिरहेका छन्,' सानिमा बैकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, 'पोहोरको तुलनामा यसपाली धेरै पैसा भित्रिने देखिन्छ।'

विदेशी बैंक तथा लगानी कम्पनीहरुबाट पैसा ल्याउनका लागि धेरै लामो प्रक्रिया अवलम्बन गर्नुपर्ने हुँदा केही ढिला हुने गरेको छ। उनीहरूले देशको रेटिङ खोजिरहेका हुन्छन्। रेटिङ छैन भनेपछि अन्य खालको सुरक्षा खोज्छन्। 'निगमले नेपालमा काम गरिरहेकाले उनीहरु यहाँ लगानी गर्न अलिक सहज मान्छन्,' दाहालले भने, 'अन्य कम्पनीहरूले भने धेरैभन्दा धेरै सुरक्षा खोज्छन्। उनीहरूको अनेक सर्तहरू हुन्छ। ती सबै मिलाउन समय लाग्छ।'

विदेशी संस्थाबाट ऋण लिनका लागि विदेशी विनियमको जोखिम छ। जोखिम न्यूनीकरण नगरी ल्याउँदा भोलि अवस्था नराम्रो पनि हुन सक्छ। त्यही भएर बैंकहरुले हत्तारिएर ऋण ल्याउन नखोजेका हुन्। 'जोखिम कतिसम्म लिने भन्ने हुन्छ। त्यो विषयमा प्रष्ट नभइ हुँदैन,' माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सुमन शर्माले भने, 'हेजिङ सहज भयो भने पैसा ल्याउन मद्दत पुग्छ।'

बैंकहरूले अहिले राष्ट्र बैंकसँग केही नीतिगत सहुलियत खोजिरहेका छन्। अहिले निर्यात र पर्यटन क्षेत्रमा विदेशी मुद्रामा ल्याएको ऋण लगानी गर्न पाइन्छ। अर्थात विदेशी मुद्रामा नै आर्जन गर्ने क्षेत्रमा मात्र विदेशबाट ल्याएको पैसा लगानी गर्न पाइन्छ। नेपाली मुद्रामा आर्जन गर्नेले विदेशबाट ल्याएको पैसा ऋणका रुपमा पाउँदैनन्। 'डलरमा आएको पैसा डलरकै रूपमा यहाँका ब्यवसायीलाई दिन पाइयो भने जोखिम कम हुन्छ,' दाहालले भने, 'यस बारेमा नीतिगत सहुलियत भए पैसा ल्याउन अझ सहज हुने छ।'

डलरमा ल्याएको पैसा नेपाली रुपैयाँमा सटही गरेर ऋण दिँदा जोखिम हुन्छ। जस्तो आजको दिनमा एक डलरको भाउ ११५ रुपैयाँ छ। ब्यवसायीले ११५ रुपैयाँका दरले आज ऋण लैजालान्। ब्यवसायीले फिर्ता गर्ने बेलामा पनि ११५ रुपैयाँका दरले नै गर्छन्। जबकी त्यो बेला डलरको भाउ १२० पुगेको पनि हुनसक्छ। 

'त्यस्तो बेलामा बैंकलाई ठूलो जोखिम हुन्छ,' दाहालले भने, 'त्यसलाई न्यूनीकरण गर्न नेपाली ब्यवसायीले निश्चित रकम डलरमै लगानी गर्न पाउने ब्यवस्था गर्दा उचित हुनेछ।' जस्तो कुनै कर्पोरेटले विभिन्न बैंकबाट १० अर्ब ऋण लिएको हुन्छ। त्यसमध्ये उसलाई १० प्रतिशत ऋण डलरमा दिने ब्यवस्था भएमा विदेशी विनिमयको जोखिम कम हुन्छ। 

अहिले बैंकहरूले गैरआवासीय नेपालीलाई लक्षित गरेर बचत तथा मुद्दती खाताहरू पनि सञ्चालनमा ल्याइसकेका छन्। गैरआवासीय नेपालीले डलरमा पैसा राख्न पाउँछन्। यसो हुँदा उनीहरूले राम्रो ब्याज पाउँछन् भने नेपाली बैंकले तरलता। 'सबैले पहल गरिरहेका छन्। बिस्तारै त्यसले मूर्त रूप लिन्छ,' शर्माले भने, 'अलिकति समय लागेको हो। यसले काम गर्छ, पैसा आउँछ।'