काठमाडौं। सरकारले निवृत्तभरण भुक्तानी सम्बन्धमा नयाँ कार्यविधि बनाएको छ। भोलि साउन १ गतेदेखि लागू हुने गरी अर्थ मन्त्रालयले निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि, २०८२ बनाएको हो।
कार्यविधिमा विदेशमा हुनेहरूले नेपाली नियोगको सिफारिसमा खाता नवीकरण गर्न सक्ने, पारिवारिक निवृत्तभरकको खाता ६ महिनासम्म सक्रिय हुनेजस्ता व्यवस्था गरिएको छ।
कार्यविधिअनुसार नेपाल बाहिर रहेका निवृत्तभरकले भुक्तानी खाता नवीकरणका लागि विदेशस्थित नेपाली नियोगमा सिफारिसका लागि निवेदन दिन सक्नेछन्। यसका लागि निवृत्तभरक स्वयम् नियोगमा उपस्थित हुनुपर्नेछ। सिफारिस नियोगले निवृत्तभरण व्यवस्थापन कार्यालयमा पठाएपछि खाता नवीकरण हुनेछ।
निवृत्तभरणको खाता निवृत्तभरकको हकमा एक वर्षसम्म र पारिवारिक निवृत्तभरकको हकमा ६ महिनासम्म सक्रिय हुनेछ।
नयाँ व्यवस्था अनुसार भर्चुअल माध्यमबाट पनि खाता नवीकरण हुनेछ। यो व्यवस्था लागू हुन भने केही समय लाग्ने निवृत्तभरण व्यवस्थापन कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलका अनुसार भर्चुअल माध्यमबाट खाता सक्रिय गराउनका लागि सफ्टवेयरको प्रयोग गर्नुपर्ने हुन्छ। यसका लागि केही समय लाग्नेछ। नयाँ कार्यविधिमा भएका अरू व्यवस्था भने भोलिबाटै लागू हुनेछन्।











