मानेभिरमा सडकमाथिबाट खस्यो चट्टानसहितको पहिरो, कागबेनी-कोरला खण्ड अवरुद्ध



बिजमाण्डू
२०८२ असार ३२ गते ११:५७ | Jul 16, 2025
मानेभिरमा सडकमाथिबाट खस्यो चट्टानसहितको पहिरो, कागबेनी-कोरला खण्ड अवरुद्ध
तस्बिर : रासस

मुस्ताङ। उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ।

Tata
GBIME
Nepal Life

गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। केहीबेर अघिदेखि अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको उनले बताए।

मुस्ताङमा कागबेनी-कोरला सडक अवरुद्ध बनेपछि उपल्लो मुस्ताङ आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। लामाले माथिबाट ठूला-ठूला चट्टान खसेकाले सडक खुलाउन केही समय लाग्नसक्ने जानकारी दिए।

उनले तत्कालका लागि मोटरसाइकल र हलुका सवारीसाधन आवतजावत गर्न मिल्नेगरी पहिरो पन्छ्याउने काम भएको बताए।

मुस्ताङमा गए रातिको वर्षासँगै कालीगण्डकी नदीको बाहव उच्च भएको छ। यहाँ तटीय क्षेत्रका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। रासस