स्याफ्रुबेसी-टिमुरे सडक खुलाउन धमाधम काम, पुल निर्माणबारे चीनले दिएको छैन जानकारी



बिजमाण्डू
२०८२ असार २९ गते १५:१९ | Jul 13, 2025
स्याफ्रुबेसी-टिमुरे सडक खुलाउन धमाधम काम, पुल निर्माणबारे चीनले दिएको छैन जानकारी

काठमाडौं। चीनबाट आएको बाढीले क्षतिग्रस्त भएको रसुवा टिमुरे सडक यसै साता खुलाउने तयारी अनुसार कामलाई तीव्रता दिइएको छ।

Tata
GBIME
Nepal Life

असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले स्याफ्रुबेसीदेखि टिमुरेसम्मको बाटो ध्वस्त बनाएकामा गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुबेसी-रसुवागढी सडक योजनाले अवरोध हटाउने कामलाई तीव्रता दिएको हो।

योजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर खड्गलाल श्रेष्ठले सडक खुलाउने काम दुवैतर्फबाट द्रुत गतिमा भइरहेको बताए। ‘सडक खुलाउन सुरुवाती र अन्तिम बिन्दुबाट मेसिन प्रयोग गरिएको छ,’ उनले भने।

उनका अनुसार अवरोध हटाउन ४ वटा मेसिन प्रयोग गरिएको छ। ‘एकातर्फबाट करिब ६ किलोमिटर र अर्कातर्फबाट पनि ६-७ किलोमिटर सडक प्रयोग गर्न मिल्ने बनाइएको छ। अब बीच भागमा करिब २५० मिटरको ठूलो र जटिल पहिरो पन्छाउन बाँकी छ। यसका लागि एक/दुई दिन लाग्ने अनुमान छ,’ श्रेष्ठले भने।

उनका अनुसार तीन दिनभित्र बाटो संचालनमा ल्याउने गरी काम भइरहेको छ।

पुल निर्माण कहिले?

ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि रसुवाबाट चीनसँग नेपालको सम्पर्क टुटेको छ। जबकि चीनसँगको मुख्य व्यापारिक मार्ग यही हो। सडक खुलाउनका लागि चीनले के गरिरहेको छ भन्ने जानकारी नेपाली पक्षलाई छैन।

‘उनीहरुले बेली ब्रिजको तयारी गरेको हो कि भन्ने अनुमान छ। तर, केही कुरा खुलेको छैन,’ श्रेष्ठले भने।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पनि पुल निर्माणको विषयमा चिनियाँ पक्षले आधिकारिकरुपमा अहिलेसम्म कुनै जानकारी नगराएको बताए।

‘चिनियाँ पक्षले पुल निर्माणको काम सुरु गर्दा हामीलाई औपचारिकरुपमा जानकारी गराउँछ। तर, अहिलेसम्म कुनै जानकारी आएको छैन,’ उनले भने, ‘चिनियाँ अधिकारीलाई सोध्दा उनीहरुले पनि पुलको बारेमा केही थाहा नभएको बताएका छन्।’

पौडेलका अनुसार चिनियाँ पक्षले भन्सार क्षेत्रमा सरसफाइ र भवन मर्मत सम्भार गरिरहेको छ।