(169).png)
काठमाडौं। हाल दैनिक रुपमा कुनै न कुनै कम्पनीहरुले लाभांश घोषणा गरिरहेको भएपनि लाभांश घोषणा गरेकै दिन शेयर मूल्य भने घट्ने गरेको छ। जलविद्युत क्षेत्रका कम्पनी बाहेक सम्पुर्ण कम्पनीहरुले राम्रो नाफा आर्जन गरेपनि यसले शेयरको मूल्य बढाउन कुनै योगदान गरेन।
त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुँदा पनि शेयर मूल्य बढ्ने गरेकोमा अहिले यसको कुनै पनि असर देखिँदैन। हरेक दिन शेयर बजार ओरालो झर्दा कम्पनीहरुले राम्रो लाभांश दिन समेत बजार बढ्न नसकेको हो। ‘कम्पनीले राम्रो लाभांश दियो भनेर शेयर खरिद गर्यो केहि दिनमा नै ठूलो घाटा ब्योहोर्नु पर्छ’ एक लगानीकर्ताले भने ‘राम्रो लाभांश पाउँदा पनि शेयर खरिद गर्न डर लाग्छ।’
लगानीकर्ताहरुमा बजार बढ्ने मनोविज्ञान हाबी नभएसम्म कम्पनीले जति सुकै लाभांश घोषणा गरे पनि केहि असर नपर्ने बजार विश्लेषकहरु बताउँछन्। बजारमा मनोविज्ञान गिराउने पहिलो कारण हो ‘बैंक व्याजदर’।
शेयर बजार सुधार हुन सानातिना लगानीकर्ताले शेयर खरिद बिक्री गरेर खासै प्रभाव पर्दैन। बजारमा ठूला खेलाडी नै आउनु पर्छ। यसका लागि उनीहरुसँग प्रशस्त तरल पैसा हुनु पर्छ। तर हाल उनीहरु तरल पैसाको अभावले शेयर खरिद बिक्री गर्न सक्ने अवस्थामा छैनन्।
पैसा हुनेले लाभांश पाउने गरी शेयर बिक्री गर्ने हो भने पनि राम्रो लाभांश लिन सक्छन्। तर दिन दिनै शेयर मूल्य ओरालो झर्दा पूँजीगत लाभ भन्दा पनि घाटा ब्यहोर्नु पर्ने अवस्थाले कतिपय लगानीकर्ता पैसा भएर पनि लगानी गर्न डराइरहेका छन्।

बजार निरन्तर ओरालो झर्ने श्रृङ्खला आइतबार पनि रोकिएन। केही समय बजार सुधार हुने संकेत देखिए पनि अन्तत: बजार घटेरै बन्द भयो। नेप्से सूचक झिनो अंक ०.१८ ले घटेर बन्द भएको हो। सूचक घटेर ११३१.८० विन्दुमा झरे पनि सेन्सेटिभ तर्फको सूचक भने ०.६९ अंकले सुधार भएको छ।
सूचकहरु मिश्रीत देखिएका छन्। फाइनान्स, निर्जीवन बीमा कम्पनी, उत्पादन तथा प्रसोधन, अन्य र माइक्रोफाइनान्सको बढेको छ भने बाँकी सूचक घटेका छन्।
सूचकमा सामान्य उतारचढावसँगै कारोबार रकम २९ करोड ३१ लाख रुपैयाँमा सिमित भयो जसमा सबैभन्दा धेरै एनएमबी बैंकको ५ करोड ७४ लाख रुपैयाँको खरिद बिक्री भयो।
.png)
मर्जरपछिको पहिलो कारोबार हुँदा एनएमबी बैंकका शेयरधनीहरुले ३१ रुपैयाँ गुमाउनु पर्यो। ओमको १०० रुपैयाँको शेयर ७६ रुपैयाँमा खरिद गर्दा एनएमबीले प्राप्त गरेको प्रिमियमले मूल्य समायोजन भएको हो। यसले गर्दा पछिल्ला दुई कारोबार दिनमा एनएमबी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। बिहीबार मूल्य घटेर कारोबार भए पनि एनएमबीको शेयर आज ९ रुपैयाँले बढेको छ।
समायोजन भएको ३१ रुपैयाँ पूर्ति हुने विश्लेषण गर्दै लगानीकर्ताहरु पूँजीगत लाभका लागि कम्पनीको शेयरमा झुम्मिएका हुन्। जसले गर्दा बिहीबार कम्पनीको ११ करोड रुपैयाँभन्दा माथिको कारोबार भयो। आइतबार पनि अधिकतम कारोबार हुने सूचीमा पर्यो।
दोस्रो धेरै कारोबार हुनेमा प्रभु बैंकको दुई करोड ७५ लाख रुपैयाँको खरिद बिक्री भयो। सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीहरुले ४.४६ प्रतिशतले कमाएका छन्।
.png)










