
काठमाडौं। तिब्बतमा गए रातिदेखिको भारी वर्षाले चीनसँगको मुख्य व्यापारिक रसुवा नाका बन्द हुन पुगेको छ। रसुवाबाट चीनसँग नेपालको सम्पर्क टुटेको छ।
स्याफ्रुबेसीदेखि सडकमार्ग पूर्णरुपमा नै बन्द भएको छ। बाढीले पुर्याएको क्षतिका कारण रसुवा नाकाको संचालन अनिश्चित हुन पुगेको छ।
बाढीले नेपाल र चीन दुवैतर्फ ठूलो क्षति भएको छ। भोटेकोशीको बाढीले चीन- नेपाल सीमाको मितेरी पुल नै बगाएको छ भने टिमुरे भन्सार नाकामा क्षति पुर्याएको छ।
भन्सारमा रहेका करोडौंका गाडी र अन्य सामान पनि बगेको छ। स्थानीय अधिकारीहरुका अनुसार ड्राइपोर्टमा राखिएका सामान बोकेको मालबाहक गाडी र १०० भन्दा बढी नयाँ सवारीसाधन बगाएको छ। रसुवाका जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ।
भूकम्पपछि तातोपानी नाका सञ्चालनमा आउन समय लागेजस्तै रसुवा नाकाको संचालन सहज देखिंदैन। भूकम्पले बन्द भएको तातोपानी नाका २०७६ सालसम्म ठप्प रह्यो। कोभिड-१९ का कारण पनि सो नाका पुनः प्रभावित बन्यो।
रसुवागढीदेखि स्याफ्रुबेसी सडक खण्डमा ठूलो भौतिक क्षति पुर्याएको रसुवा भन्सार कार्यलयका प्रमुख भन्सार अधिकृत तुलसी भट्टराईले बताए।
रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको बाटो ठाउँ ठाउँमा पूर्ण रुपमा बगाएको। जसकारण घटनास्थलमा पुगेर निरीक्षण गर्न सक्ने अवस्थासमेत नरहेको भट्टराई बताउँछन्। हाल वर्षा जारी रहेको र नदीको बहाव नघटेकोले तत्काल मर्मतको सम्भावना पनि नदेखिएको उनको भनाइ छ।
बाढीले नेपालतर्फ मात्र नभई चीनतर्फ पनि क्षति गरेको छ। चीनतर्फको भन्सार नाका संचालनमा आउन पनि केही समय लाग्नेछ।

‘यो घटनाले रसुवा नाकाको अवस्था २०७२ सालको भूकम्पपछिको तातोपानी नाकाको जस्तै बनाएको छ,’ प्रमुख भन्सार अधिकृत भट्टराईले भने।
भूकम्पले तातोपानी नाका बन्द भएपछि नेपाल-चीन व्यापार रसुवामा सिफ्ट भएको थियो। तातोपानी नाका संचालनमा आए पनि पछिल्ला वर्ष चीनसँगको मुख्य व्यापारिक नाका रसुवा थियो। रसवा नाकातर्फको क्षतिका कारण दुई देशको व्यापारमा गम्भीर धक्का लाग्ने देखिएको छ।
रसुवा नाका हुँदै चालु आर्थिक वर्ष हालसम्म डेढ खर्ब रुपैयाँको सामान नेपाल आयात भएको छ। आयात व्यापारमा गाडीको हिस्सा सबैभन्दा धेरै छ। प्रमुख भन्सार अधिकृत भट्टराईका अनुसार यो नाका हुँदै आयात हुने मुख्य सामग्रीमा गाडीका अलावा तयारी पोशाक, जुत्ता तथा चप्पल, होजियारी कपडा, ब्याग, मोबाइलका ब्याट्री, स्वास्थ्य सामग्री, स्याउ, ओखरलगायत छन्।
यो नाका हुँदै नेपालबाट विभिन्न सामग्री निर्यात गर्ने गरिएको छ। चालु आर्थिक वर्ष यो नाकाबाट हस्तकला, गलैंचा, फर्निचर लगायत लगभग ३ अर्ब रुपैयाँ बराबरका सामान चीन निर्यात गरिएको छ।
रसुवा नाका बाढीले ठप्प भएपछि व्यापारीहरुले सामान अन्यत्र सार्नुपर्ने र अन्य नाकाबाट ल्याउनुपर्ने बाध्यता सिर्जना भएको छ। तर, त्यो त्यति सहज छैन। तातोपानी नाका पनि संचालनमा रहे पनि भरपर्दो छैन।
कतिबेला बाटो बन्द हुने भन्ने ठेगान हुँदैन। तातोपानी नाका केही समय अगाडि ४ दिन भन्दा भएर खुलेको थियो। बाटो अनिश्चित भएका कारण सामान कसरी सिफ्ट गर्ने भन्नेबारे व्यापारीहरुमा अन्योल छ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले बाटोको अवस्था अत्यन्तै नाजुक रहेको बताए।
‘हाल संचालनमा रहेको सडक पनि भरपर्दो छैन। मितेरी पुलदेखि कोदारी, कोक्लाङ र डाक्लाङका पहिरोले कुनै पनि बेला बाटो अवरुद्ध गर्न सक्ने जोखिम छ,’ उनले भने, ‘पहिरो जाँदा बाटो भासिने, केही दिन बन्द हुने र मर्मतपछि मात्र कामचलाउका लागि खुल्ने गरेको छ। बाटोको अवस्था यति जोखिमपूर्ण छ कि यो नाका कहिले चल्ने र कहिले बन्द हुने भन्ने निश्चित हुँदैन।’
तातोपानी भन्सारले चालु आर्थिक वर्ष करिब १८ अर्ब ६६ करोड राजस्व संकलन गरेको छ।

तातोपानी सिफ्ट होला व्यापार ?
भूकम्पपछि तातोपानी नाका संचालनमा नउाँदा व्यापारीले रसुवा नाकाबाट सामान ल्याउन थालेका थिए। अब फेरि तातोपानी नाकामै ‘सिफ्ट’ हुनुपर्ने बाध्यता व्यापारीलाई आइलागेको छ। तर, बाटोको जोखिमले त्यो सहज छैन।
‘हाम्रा लागि तत्कालको विकल्प भनेको तातोपानी नाका मात्रै छ। नेपालको अवस्था हेर्दा त्यस्तो देखिन्छ। तर, चीनमा के भइरहेको थाहा छैन। तातोपानी जाने बाटोहरु पनि त राम्रो हुनुपर्यो सिफ्ट गर्नलाई,’ बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘हामी पर्ख र हेरको अवस्थामा छौं।’
चीनको झाङ्मु बन्दरगाहको व्यवस्थापन समितिले नेपाली व्यवसायीहरुलाई बाढीका कारण सडकका धेरै ठाउँमा पहिरो गएको र यसले गर्दा आयात/निर्यातका अवरुद्ध मार्गहरु कहिले संचालनमा आउँछन् भन्नेबारे स्पष्ट जानकारी नभएको बताएका छन्।
झाङ्मु बन्दरगाहको व्यवस्थापन समितिले भनेको छ, ‘हामी सम्पूर्ण कम्पनीहरुलाई झाङ्मु बन्दरगाह हुँदै नेपाल निर्यात गरिने मालसामान हाललाई नपठाउन हार्दिक अनुरोध गर्दछौं। यसो गर्दा आर्थिक क्षतिबाट बच्न सकिन्छ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चिनियाँ पक्षसँग छलफल गरेपछि मात्रै मितेरी पुल निर्माणको टुंगो लाग्ने बताए।
‘हामीले छलफल गर्ने कोसिस गरिरहेका छौं। कहाँ कति क्षति भएको हो यकिन भइसकेको छैन,’ उनले भने, ‘हामीले पुल मात्रै होइन सडक पनि बनाउनु पर्नेछ।’ पुल पहिले पनि चीनले नै बनाइदिएको हो।

दसैंको सामान पनि बगायो
व्यवसायीहरुले बाढीले दसैं लक्षित सामानहरु पनि बगाएको बताएका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले बाढीले रसुवा नाका र केरुङ नाकातर्फ रहेका कन्टेनरहरु बगाएको बताए।
‘व्यवसायीहरुले दसैंलाई लक्षित गरी आयात गरेका कच्चा पर्दाथमा ठूलो क्षति पुगेको छ। हालसम्म यति क्षति भयो भनेर भन्न सकिएको छैन,’ उनले भने, ‘अहिले केरुङबाट दैनिक ३५ भन्दा बढी कन्टेनर आउने गरेका थिए। त्यसमा रेडिमेड र कच्चा पदार्थ धेरै थियो। यतिबेला दुवैतर्फ नेटवर्क नभएका कारण पूरा जानकारी आउन सकेको छैन।’
रञ्जना कम्पलेक्सका व्यवसायी राम गजुरेलले दसैंका लागि मगाएका सामान बाढीले बगाएको खबर पाएको बताए।
‘यसपालि दसैं चाँडै भएकोले व्यवसायीहरुले चीन गएर सामान अर्डर गरिसकेका छन्। कतिपय सामान लट अनुसार आउने क्रम सुरु भएको थियो,’ उनले भने, ‘कतै बाढीमा परेको हो कि भनेर खोजी गरिरहेको छौं।‘
उनले आफूले अर्डर गरेको सामान चीनबाट भन्सार पास भएर छुटेको तर कहाँ आइपुग्यो भन्ने जानकारी नआएको बताए।