भोटेकोशीमा बाढी : सयभन्दा बढी गाडी बगाएको अनुमान, जलविद्युत आयोजनामा पनि क्षति

बिजमाण्डू
२०८२ असार २४ गते ०८:३५ | Jul 8, 2025
भोटेकोशीमा बाढी : सयभन्दा बढी गाडी बगाएको अनुमान, जलविद्युत आयोजनामा पनि क्षति

काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीले जनधनको ठूलो क्षति भएको छ। रसुवागढी नाका डुबानमा पर्दा मितेरी पुल बगेको छ, जसकारण त्यहाँबाट चीनसँग नेपालको सम्पर्क टुटेको छ।

Tata
GBIME

रसुवागढी नाकाका प्रमुख भन्सार अधिकृत तुलसी भट्टराईका अनुसार भन्सार यार्डमा रहेका अधिकांश गाडी बाढीमा बगेको छ। गाडीसँगै अन्य मालवस्तु पनि बगाएको छ। नेपालको तर्फमात्र होइन चीनतर्फ पनि ठूलो क्षति पुगेको छ।

‘अचानक बाढी आएपछि धेरै गाडीहरु बगाएको छ। बाढी आउन लागेको थाहा पाएपछि केही गाडीहरु सार्ने प्रयास गरिएको थियो, तर पानीको बहाव एक्कासि बढेकाले सबै सार्न सकिएन। हाम्रो यार्डमा करिब डेढ-दुई सय गाडीहरु थिए, जसमध्ये नयाँ र मालवाहक गाडीहरु गरेर करिब सय जति बाढीले बगाएको अनुमान छ,’ उनले भने।

टिमुरेस्थित भन्सार यार्डबाट १० वटाभन्दा बढी मालबाहक कन्टेनरका डिब्बा पनि बगाएको जनाइएको छ।

बाढी र पहिरोका कारण स्याफ्रुबेंसीदेखि अगाडि सडक चर्केकाले जान नसक्ने अवस्थामा रहेको जनाइएको छ। घटनास्थलतर्फ पैदल नै हिँडेर उद्धार टोली गइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

बाढीले रसुवा जलविद्युत आयोजनाको हेड वर्क्स पनि बगाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजन ढकालले भने, ‘२३ जनाको फसेका छन्। उद्धारको प्रयास भइरहेको छ। त्रिशूली-३ ए को टावर पनि बगाएको छ।’

उद्धारका लागि हेलिकप्टर पठाउने प्रयास भइरहे पनि खराब मौसमका कारण उड्न नसकेको प्रजिअ पौडेलले बताए।

प्रहरीले बाढीमा परि हालसम्म १८ जना बेपत्ता रहेको जनाएको छ। जसमा ६ जना चिनियाँ र ३ जना प्रहरी छन्। यता त्रिशूली नदीमा पनि बाढी आउँदा फसेका मानिसहरुको उद्धारको लागि प्रयास भइरहेको छ।