(5).jpg)
काठमाडौं। बर्षकै सबैभन्दा धेरै विद्युत माग हुने लक्ष्मी पूजको दिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उच्च अधिकारीहरु सहित आफै अनुगमनमा निस्केका थिए।
त्यही भएर विद्युत प्रणाली एकदमै ठिक भयो र लक्ष्मी पुजामा कतै अँध्यारो देखिएन। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले कर्मचारीहरु विशेष सजग भएर खटिँदा ब्यवस्थापन चुस्त रहेको बताए।
लामोसाँघु सवस्टेशनमा १३२/३३ केभीको ट्रान्सफर्मरमा आगलागी हुँदा १५ मेगावाट विद्युत प्रणालीमा आउन सकेको थिएन। त्यसले चरिकोटमा केहि समय विद्युत अवरुद्ध भएपनि साँझसम्म लोड सुचारु भएको थियो।
बर्दघाट सवस्टेशनमा आगो लागेपनि विद्युत प्रणाली अन्यत्रैबाट रिस्टोर गरिसकिएको अधिकारीले बताए। यो वर्ष डिजेल प्लान्ट चलाउनै नपर्ने र दीपावली गर्नको लागि कहिँ कतै समस्या नआएको अधिकारीले बताए।
४ वर्ष अघि यसरि सुरु भएको थियो लक्ष्मी पूजाको दिनदेखि उज्यालो यात्रा
काठमाडौं उपत्यकामा २०७३ को लक्ष्मी पूजामा नै रातभरी बत्ती बलेको थियो। कुनै घोषणा बिनै एकाएक काठमाडौं उपत्यका लोडसेडिङ मुक्त भएको थियो। त्यतीबेला विद्युतको उच्चतम माग एक हजार पाँच सय मेगावाट थियो। उत्पादन भने ७ सय मेगावाटको वरिपरि थियो।
त्यसैले कसैलाई केहि कुरा नभनिककै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकामा रातभर वत्ती दिएका थिए।
२०७४ को लक्ष्मी पूजामा प्राधिकरणले देशभर बत्ती दिने योजना बनाएको थियो। त्यसका लागि एक हजार दुई सय मेगावाट विद्युत चाहिने प्राधिकरणको प्रक्षेपण थियो। त्यसै अनुरुप एक हजार दुई सय ५० मेगावाट विद्युतको जोहो गरिएको थियो। जसमा १० मेगावाटको डिजेल प्लान्टदेखि ४०० मेगावाट विद्युत भारत बाट आयात गरिएको थियो।
त्यतीबेला होटलले आफ्नै जेनेरेटर चलाएका थिए भने उद्योगले ठूला मेसिन चलाएका थिएनन्। जसले गर्दा एक हजार पाँच सय मेगावाटको माग प्रधिकरणले एक हजार एक सय ६५ मेगावाटमै पूरा गरेको थियो। देशभर कतै पनि लोडसेडिङ गर्नुपरेको थिएन।
२०७५ को लक्ष्मी पूजामा एक हजार दुई सय ७५ मेगावाट विद्युत माग हुने प्रक्षपण गरिएको थियो। तर अन्त्यमा एक हजार एक सय पाँच मेगावाट मात्रै विद्युतले माग धानेको थियो।
जुन २०७४ को भन्दा ६० मेगावाट कम माग थियो भने प्रक्षेपण भन्दा १७० मेगावाट कम थियो। जसमा भारतबाट ३२५ मेगावाट विद्युत आयात गरिएको थियो भने प्राधिकरणको ४३९ मेगावाट र निजी क्षेत्रको ३४१ मेगावाट गरि ७८० मेगावाट विद्युत लिएको थियो।
डिजेल प्लान्ट तयारी अवस्थामा भएपनि त्यसलाई चलाउन परेन।
यो वर्ष लक्ष्मी पूजाको दिन विद्युत माग एक हजार एक सय ९० मेगावाट भन्दा बढी नहुने प्राधिकरणको प्रक्षेपण थियो। विगतका वर्ष हेर्ने हो भने पनि विद्युत खपत दर घट्दै गएको देखिन्छ।
प्रक्षेपण गरेभन्दा करिब एक सयदेखि डेढ सय मेगावाट सम्म कम विद्युत खपत हुने गरेको छ। पछिल्लो समय कम विद्युत खपत गर्ने विद्युतीय सामाग्रीको प्रयोग बढ्दो छ। उच्चतम विद्युत माग हुने (पिक आवर) समयमा उपभोक्ताले पनि बढि विद्युत खपत गर्ने उपकरण चलाउन छोडेका छन्। जसले गर्दा यो वर्ष पनि विद्युत माग एक हजार एक सय ५० मेगावाट भन्दा बढी गएन।
अहिले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको गरेर एक हजार एक सय मेगावाट विद्युत उत्पादन क्षमता छ। शनिवार देशभर एक हजार एक सय ५३ मेगावाट विद्युत माग रहेको थियो। आइतबार एक हजार एक सय ९० मेगावाट विद्युत माग प्रक्षेपण गरिएको थियो।
मुजफ्फरपुर-ढल्केबरबाट ५० मेगावाट र टनकपुरबाट १० देखि १५ मेगावाट विद्युत लिनै पर्ने हुन्छ। त्यो बाहेक अन्य विद्युत भारतबाट आयात गर्नु परेन।










