
काठमाडौं। साताको सुरुदेखि नै क्रमिक बढेको सेयर बजार बुधबार पनि दोहोरो अंकले बढेको छ। नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ मा रहँदा कारोबार रकम पनि बढेर ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
सबै समूहका सूचक बढ्दा बजार हरियाली भएको हो। सर्वाधिक जीवन बीमा र निर्जीवन बीमा समूह बढेका छन्। जीवन बीमा २.८३ र निर्जीवन बीमा समूह २.५१ प्रतिशतले बढेका छन्।
यस्तै विकास बैंक २.३१, फाइनान्स १.९९ र व्यापार समूह १.७६ प्रतिशतले बढेको छ। ६५ कम्पनीको सेयरमूल्य घटेको छ। १८२ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर सर्किट स्तरमा बढेका छन्। नेपाल इन्स्योरेन्सको ९.८२ र गुराँस लघुवित्त ९.१५ प्रतिशतले बढेको छ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ५५ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै साहस ऊर्जाको ४९ करोड ४१ लाख, सप्तकोशी विकास बैंक ३५ करोड र लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर २९ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ।
यसअघि मंगलबार २८.९१ अंकले बढेर नेप्से २६६०.३९ विन्दुमा रहँदा ७ अर्ब ३ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो।