
काठमाडौं। नारायणगढ-बुटवल सडकखण्डको विनयीखोलाको नयाँ पुल आगामी शनिबारदेखि संचालनमा ल्याइने भएको छ। पछिल्लो उक्त सडक खण्डमा कहिले विनयी खोलाको डाइभर्सन बाढीले बगाएर त कहिले दाउन्नेको उकालो सडकमा हिलो भएर जेठ अन्तिमदेखि दिनहुँ यात्रा जोखिमयुक्त एवं अनिश्चित छ।
विनयीखोलाको नयाँ पुल भाँचिएपछि बाटो बन्द भएर सयौं सवारीसाधन अलपत्र भएर रोकिनु परिरहेको छ। वैकल्पिक मानिएका बाटोमा पनि समस्या आउँदा उक्त पुल छिटो संचालन ल्याउन आयोजनालाई बाध्यता परेको हो।
एसियाली विकास बैंक (एडीबी)आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालका अनुसार आगामी शनिबारदेखि नयाँ पुल संचालनमा ल्याउने मिति तय भएको छ। विनयी खोलामा बनेको नयाँ पुल शनिबार संचालनमा आउने निर्माण कम्पनी चाइना स्टेट कम्पनीले जनाएको उनले बताए।

दुम्कीबासको विनयी खोलामा पुल निर्माणको काम सकिएको लगभग २५ दिन भइसकेको छ। यो पुल तत्काल खोल्न बुटवल-नारायणगढ सडक विस्तार गरिरहेको निर्माण कम्पनी चाइना स्टेट कम्पनीलाई सरकारले अनुरोध गरेपछि शनिबारदेखि खुला गर्न लागिएको ढकालको भनाइ छ।
उनका अनुसार यो पुल संचालनमा आएपछि सवारीसाधन रोकिनुपर्ने समस्या कम हुनेछ। ‘अहिले यही पुल नहुँदा र डाइभर्सन बगाएपछि समस्या भएको थियो। तर अब पुल बनेको छ। संचालन भएपछि खोलाका कारण यो सडकमा सवारीसाधन रोकिने अवस्था बन्ने छैन,’ उनले भने।
विनयी खोलाको पुल गत पुसको अन्तिम साता भाँचिएको थियो भने विकल्पमा बनाइएको डाइभर्सन खोलाले पटक पटक बगाएको थियो। पछिल्लो पटक एक साताअघि डाइभर्सन पुनः बाढीले बगाएको थियो। त्यसयता सवारीसाधनलाई उक्त खण्ड आउजाउमा निकै सास्ती छ। साना सवारीलाई जसोतसो आवागमन सहज भए पनि ठुला मालवाहक सवारीसाधनहरु वारिपारि रोकिएका छन्।