राजमार्ग अवरुद्ध हुँदा थोक बजारमा व्यापार सुस्त, ‘मौसम र सडकको मात्रै होइन समस्या’

सरला सुवेदी
२०८२ असार १९ गते ०६:०० | Jul 3, 2025
राजमार्ग अवरुद्ध हुँदा थोक बजारमा व्यापार सुस्त, ‘मौसम र सडकको मात्रै होइन समस्या’

काठमाडौं। बर्खायामसँगै काठमाडौंको न्यूरोड र महाबौद्धका थोक पसलहरूमा खरिदकर्ताको संख्या घट्दै गएको छ। हुन त यो समयमा थोक कारोबार जहिल्यै पनि घट्ने नै हो। तर, यो वर्ष भने ग्राहकको किनमेल गर्ने ‘ट्रेन्ड’ घट्नुमा राजमार्गहरूमा देखिएको अवरोधले पनि मुख्य भूमिका खेलेको छ।

Tata
GBIME

व्यवसायीहरू यसपटक गर्मीयामका लागि पर्याप्त सामान स्टकमा रहेको बताउँछन्। मनसुन छिटै सक्रिय हुँदा उपत्यका भित्रैका बजारबाट माग घटेको छ।

यो समयमा कारोबार तुलनात्मक रुपमा घट्ने भए पनि ठप्प जस्तो अवस्था आउँदैनथ्यो। तर, वर्षाका कारण विभिन्न स्थानमा लामो तथा छोटो दुरीका सवारी आवागमन प्रभावित हुँदा उपत्यका बाहिरको ‘अर्डर’ आउन घटेको व्यवसायी बताउँछन्।

चीन र भारतबाट आयातित रेडिमेड सामान र कच्चा पदार्थ थोक व्यवसायीले अर्डर गरेभन्दा ढिला आइपुग्छ। ढिलै आइपुगे पनि उठाउने खुद्रा कारोबारी हिजोआज न्यूरोडमा नगण्य मात्रै पुग्ने गरेका छन्। उपत्यका बाहिरबाट प्राप्त हुने अर्डरमा पनि सामान पठाउन समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन्।

न्युरोडको आरबी कम्पलेक्स व्यवसायी संघका अध्यक्ष पर्शुराम दाहाल हिजोआज थोक पसलहरू सुनसान हुन थालेको बताउँछन्।

‘असार सुरु भएपछि बर्सेनि व्यापार कम हुने नै हो। तर, यसपालि जस्तो सुक्खा कमै लाग्थ्यो,’ उनले भने, ‘यो वर्ष राजमार्गहरूमा जतासुकै गाडीलाई अप्ठ्यारो भएको असर हामीलाई परिसक्यो।’

बाहिरबाट आउने ग्राहक बाटोका कारण आउन नसकेको उनले बताए। अहिले होलसेल र रिटेल दुवै सुनसान र सुस्त देखिन थालेको उनी बताउँछन्।

‘आयात गरेको सामान समेत समयमा नआइपुग्ने अवस्था छ। उपत्यका भित्रैका व्यापारी पनि फाट्टफुट्ट मात्रै आइरहेका छन्,’ उनले भने, ‘यो असर मौसम र सडकको मात्रै होइन। व्यापारिक क्षेत्रमा पार्किङको समस्या, आन्दोलन पनि कारण हो।’

न्यूरोड क्षेत्रमा सवारी पार्किङको असुविधाले खुद्रा विक्रेताको आगमन घटाएको व्यावारीको बुझाइ छ।

दाहालका अनुसार कारोबारको तरिकामा पनि विस्तारै परिवर्तन भइरहेको छ। खुद्रा कारोबारीहरूले आफू आउनुभन्दा कतिपयले ह्वासट्सएपबाट अर्डर गरेर सामान मगाउन थालेका छन्।

‘आफैँ आउने, हाम्रा पसल र गोदाम पुगेर छान्ने अनि लैजाने क्रम घट्दै छ,’ उनले भने, ‘माल आफैं हेरेर, छानेर लैजाँदा धेरै लैजान्थे, टिपाएको अर्डरबाट थोरै छ कारोबार। बजार सुनसान त्यसै भएको होइन। बजार आउनेलाई पनि समस्या छन्।’

उपत्यका बाहिरका ग्राहकका लागि दाउन्ने र नागढुंगाको बाटोले असहज भएको गुनासो आएको उनले बताए।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका पूर्वअध्यक्ष कुमार कार्कीले बर्खाले गर्दा व्यवसाय कम भएको बताउँछन्।

‘हाम्रा हाइवेमा यात्रा गर्न ग्राहक डराए। त्यो असर कारोबारमा सोझै परेको छ,’ उनले भने, ‘व्यापारी थोक बजारसम्म आइपुग्न समय लाग्छ।’

बाहिर एकै दिनमा पुग्ने सामान अहिले पठाएको ३ दिनमा पुग्ने उनले बताए।

‘व्यापारमा मन्दी छ। बजारलाई पुरै सुक्खा लागेको छ,’ उनले भने, ‘अहिले थोक कारोबारी कसैले पनि दिनको १० प्रतिशत कारोबार गर्न मुस्किल छ।’

त्यस्तै, मेट्रो कलेक्सनका संचालक शम्भु भण्डारी सपिङ कम्पलेक्सहरूमा ग्राहकको आवागमनको संख्या घटेको बताउँछन्।

‘यो बेला सामान्य कारोबार हुने हो। पानी पर्ने, बाटो जाम, राजमार्गहरूमा यात्रा गर्दा असुरक्षित भएपछि फुटफल घट्ने सधैंझैं उस्तै हो,’ उनले भने, ‘अघिल्ला वर्षभन्दा अहिले व्यापारमा थप गिरावट छ।’

यस्तै, रञ्जना कम्पेक्सका व्यवसायी राम गजुरेल फुटफल घट्नुमा सामाजिक संजालको बढ्दो प्रयोग पनि कारक रहेको तर्क गर्छन्।

‘पहिले-पहिले खुद्राका ग्राहक पनि थोकमा आएर किनमेल गर्थे, हिजोआज अनलाइन अर्डर गर्छन्,’ उनले भने, ‘कारोबार नै नहुने होइन, भएको छ तर कम भएको छ।’

अफसिजन भएकाले हिजोआज ग्राहक कम आए पनि अनलाइन कारोबार गर्नेहरूले राम्रै व्यापार गरिरहेको उनले बताए। अनलाइन कारोबारीहरूले थोकबाट उठाउने सामानमा निकै कम नाफा राखेर बेच्दा खुद्रा कारोबारीको बजार घटेको उनले बताए।

‘क्वालिटी खोज्ने हो भने पसलमा गएर हेरेर छामेर सामान लिएको राम्रो हो। तर, धेरै ग्राहकले यो बुझेका हुँदैनन्,’ उनले भने, ‘कम्बो सेट बनाएर, खरिदमा अफर दिएर अनलाइनले बेच्छ। उनीहरूले गर्दा हाम्रो थोक बजार पनि प्रभावित भएको छ।’

सटर नराखी अनलाइन बिजनेस गर्नेले कारोबार बढाउँदा थोकमा आउने पसले, खुद्रा विक्रेताको खरिद परिमाण घटिरहेको उनले बताए।