
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ सार्वजनिक गरेको छ। नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्याउन उक्त कर्जा ल्याइएको बैंकले जनाएको छ।
यस योजनाअन्तर्गत कृषकले धानको बिउ, रसायनिक तथा जैबिक मल, कृषि उपकरणहरू तथा अन्य आवश्यक कृषि सामग्रीहरू खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन्।
बैंका अनुसार खेतियोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाउनुका साथै कृषि पेशालाई मर्यादित र व्यावसायिक बनाइ कृषकहरूलाई प्रोत्साहन गर्नका लागि यो कर्जा योजना ल्याइएको हो।
साथै, राष्ट्रिय धान दिवसको अवसरमा बैंकले टोखा नगरपालिका वडा नम्बर १, राधा कृष्ण मन्दिर नजिकै रहेको फाँटमा धान रोपाइँ आयोजना गरेको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयहरूको सहभागिता थियो।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाल सरकारको रणनीतिअनुसार धानको उत्पादन वृद्धि गर्न, कृषिको आधुनिकीकरण तथा व्यावसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्न बैंकले यस प्रकारका कार्यक्रमहरू आयोजना गर्ने गरेको उल्लेख गरे।
साथै, उनले बैंकले सार्वजनिक गरेको धान खेती कर्जाले पनि कृषकहरूलाई धान खेती गर्न प्रोत्साहित गर्ने र धानको उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।