
काठमाडौं। फलफूलको राजा मानिने आँपको मूल्य मध्य सिजनमै महँगिएको छ। बजारमा देशभरबाट ठूलो परिमाणमा आपूर्ति हुँदा पनि आँपको भाउ बढेको हो।
आँपको मूल्य थोक बजारमा नै किलोको ९० रुपैयाँसम्म पुगेको छ। कुलेश्वर फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले माग बढेकाले आँपको भाउ बढेको बताए।
‘बजारमा गत महिनादेखि स्वदेशी आँप आउन सुरु भएकामा भाउ सुरुमा प्रति किलो ४० देखि ५० रुपैयाँ थियो। सुरुमा विषादी प्रयोग भएको आँप आएको थियो। अहिले विषादीविनाको आँप आइरहेको छ। भाउ पनि थोक बजारसम्म गुणस्तर हेरेर ९० रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘विषादी नभएको आँपको माग बढेकाले बजारमा भाउ बढेको हो।’
असार पहिलो सातासम्म थोक बजारमा आँपको मूल्य प्रति केजी ६० देखि ६५ रुपैयाँ थियो। त्यतिखेर प्रति क्रेट १२०० रुपैयाँमा पाइने आँपको मूल्य अहिले २००० रुपैयाँ पुगेको छ। गुणस्तर अनुसार आँपको भाउ फरक पर्छ।
व्यापारीहरुका अनुसार कुलेश्वर फलफूल बजारमा अहिले दैनिक सवा करोड रुपैयाँभन्दा बढीको आँप बिक्री भइरहेको छ।
‘गत वर्ष दैनिक ९० लाखदेखि एक करोड रुपैयाँसम्मको आँप बिक्री भएको थियो। यसपालि दैनिक १ करोड २५ लाख रुपैयाँभन्दा बढीको आँप गइरहेको छ,’ बानियाँले भने, ‘यसपालि आँपले राम्रो भाउ पाएको छ।’
बजारमा मालदह र दशहरि आँप सबैभन्दा रुचाइन्छ।
कुलेश्वर बजारका अर्का व्यवसायी रुद्रबहादुर पाठकले पनि आँपको भाउ बढ्न थालेको बताए। ‘यतिबेलाविषादी प्रयोग नगरी पाकेको आँप आइरहेकाले खपत बढेको छ जसले गर्दा भाउ पनि बढेको हो,’ उनले भने।
बजारमा हाल रौतहट, सर्लाही, सिरहा, धनुषा, कपिलवस्तु लगायत तराईका जिल्लाबाट आँप आइरहेको छ। व्यापारीहरुका अनुसार आँपको भाउ कपिलवस्तुमै प्रति केजी ५३ रुपैयाँ पुगेको छ।