
काठमाडौं। नेपालको पहिलो अक्सन बेस्ड इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर प्रिमियर लिग भदौ २३ बाट २८ गतेसम्म हुने भएको छ। आयोजक काठमाडौं स्पोर्ट्स इभन्ट प्राइभेट लिमिटेडले काठमाडौंको बुढानिलकण्ठस्थित रोयल स्पोर्ट्स पार्कमा प्रतियोगिता गर्न लागेको हो।
प्रतियोगिताको अनुमानित लागत ४५ लाख रुपैया रहेको प्रतियोगिताको टेक्निकल डाइरेक्टर रविन्द्र गुप्ताले बताए। प्रतियोगितामा १० टोली सहभागी हुनेछन्। टोली खरिद गर्न १ लाख ५० हजार रुपैयाँ रजिस्ट्रेसन शुल्क तोकिएको र यसमाथि बिडिङ हुने आयोजकले जनाएको छ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुने र चार टोली नकआउट चरणमा पुग्ने आयोजकले जनाएको छ। यसमा खेलाडीलाई ए, बी र सी गरी तीन समूहमा बाँडेर अक्सन हुनेछ। हरेक टोलीले नेपाललाई कुनै उमेर समूहमा प्रतिनिधित्व गरिसकेको खेलाडीलाई मार्की तोक्नुपर्नेछ।
आयोजकका अनुसार ‘ए’ ग्रेडको खेलाडीले १५ देखि २५ हजार, ‘बी’ ग्रेडको खेलाडीले १० देखि १५ हजार र ‘सी’ ग्रेडको खेलाडीले ५ देखि १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। खेल टी-१० फर्म्याटमा हुनेछ।