
चीनले आफ्नो स्थापनाको ७० औं वर्षगाँठ मनाउनु एकदिन अघि बेइजिङमा मेगा एयरपोर्ट संचालनमा ल्याएको छ। बेइजिङस्थित दाक्सिङ अन्तराष्ट्रिय विमानस्थलको चिनियाँ राष्ट्रपति सि जिनपिङले उद्घाटन गरे।
कुल ११ अर्ब डलर लागतमा तयार भएको बिमानस्थल ७ लाख वर्ग मीटर क्षेत्रफलमा बनेको छ। यो झण्डै ९८ वटा फुलबल मैदान जोड्दा हुने क्षेत्रफल हो।
बेइजिङमा हाल रहेको बेइजिङ क्यापिटल विमानस्थल विश्वको दोस्रो ब्यस्त विमानस्थल मानिन्छ। सबैभन्दा ब्यस्त विमानस्थल भने एटलान्टा हो। नयाँ विमानस्थलले बेइजिङको ब्यस्त क्यापिटल विमानस्थलको चाप घटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
डाक्सिङ विमानस्थल एउटै भवनमा टर्मिनल भएको विश्वकै सबैभन्दा ठूलो विमानस्थल पनि बन्न पुगेको छ। यसले सन् २०२५ सम्ममा १७ करोड यात्रुहरुलाई सेवा दिने अपेक्षा गरेको छ।

संचालनमा आए लगत्तै यहाँ सातवटा आन्तरिक उडानहरु भएका छन्। पहिलो फ्लाइट चाइना साउथर्न एयरलाइन्सले गरेको थियो। यस्तै ब्रिटिस एयरवेज, क्याथे प्यासेफिक र फिन एयरले आफ्नो डाक्सिङ उडानको रुट सार्वजनिक गरिसकेको छ।
प्रसिद्ध आर्किटेक्ट जाहा हदिदले डिजाइन गरेको नयाँ एयरपोर्ट तियानमिन स्क्वायरबाट ४६ किलोमीटर दक्षिणमा पर्छ।
नयाँ एयरपोर्टले बेइजिङलाई न्यूयोर्क र लण्डन जस्तै दुईवटा अन्तराष्ट्रिय विमानस्थल भएको शहरका रुपमा परिचय दिएको छ। सन् १९५८ मा यहाँ पहिलो बेइजिङ क्यापिटल एयरपोर्ट संचालनमा आएको थियो।











