माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा पढाउनेसम्बन्धी सम्झौता अन्तिम चरणमा

बिजमाण्डू
२०८२ असार १२ गते १०:४३ | Jun 26, 2025
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा पढाउनेसम्बन्धी सम्झौता अन्तिम चरणमा

काठमाडौं। माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ।

Tata
GBIME

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्र संघीय सम्मलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आादानप्रदान भएको छ।

उक्त भेटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको जानकारी दिए। उनले चाँडै सम्झौता गर्ने गरी गृहकार्य भइरहेको माल्दिभ्सका राज्यमन्त्रीलाई बताए।

उनले नेपालमा एमडीएमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए।

मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरू काम गर्ने संख्या बढिरहेको तर उनीहरूले रकम घर पठाउन समस्या परेको बताए। प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताए।

नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको छ। ३ महिनाअघि इण्डोनेसियामा माल्दिभ्सका स्वास्थ्यमन्त्रीसँग मन्त्री पौडेलसँगले वार्ता गरेपछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो।

मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थालेका थिए। त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।