काठमाडौं। नागढुङगा-नौविसे सुरुङमार्ग निर्माण गर्न जापानी कम्पनीसँग सम्झौता हुने भएको छ।
सोमबार विकास सहायता कार्यान्वयन महाशाखा र जापानीज कम्पनी हाज्मा/आन्दो जेभीसँग सम्झौता हुन लागेको आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए। उनका अनुसार, बिहीबार कम्पनी प्रतिनिधी र आयोजनाका वीचमा छलफल भएको थियो।
छलफलपछि सोमबार सम्झौता गर्ने निर्णय भएको हो। बैंक ग्यारेण्टी सहित प्रक्रिया पुरा गरेर कम्पनी आएको आयोजनाले जनाएको छ। आज आयोजना र कम्पनीका बीचमा छलफल चलिरहेको खरेलले जानकारी दिए। मुआब्जा वितरण, आयोजनाको अवस्था लगायतका विषयमा छलफल भैरहेको आयोजनाले जनाएको छ।
असारमै शिलान्यास गर्ने भनिएपनि मुआब्जा वितरण, साईट क्लियर लगायतको प्रक्रिया सक्न समय लागेका कारण ५ महिना ढिला गरि निर्माण सुरु हुन लागेको हो। भोली नै सम्झौता हुने भएपनि निर्माण भने दँशैतिहारपछि मात्रै सुरु हुनेछ। यो अवधिमा कम्पनीले साईटमा क्याम्प राख्ने, इक्विपमेन्ट ल्याउने लगायत तयारीका कामहरु गर्ने खरेलले जानकारी दिए।
यसअघि नै आयोजनाको काम हाज्मा/आन्दो जेभीलाई दिने निर्णय भएपनि सम्झौता हुन सकेको थिएन। कम्पनीले निर्माण सुरु गरेको ४० महिनामा तयार पारेर आयोजनालाई हस्तान्तरण गर्नुपर्नेछ।
नागढुङगा नौविसे सुरुङमार्गको किसिपढी खोल्सीदेखि सिस्नेखोला करिव २.७ किमी सुरुङमार्ग निर्माण हुनेछ। गुर्जुधारादेखि सुरुङमार्गको प्रवेशमार्गसम्म फ्लाईओभर निर्माण गरिनेछ। यो करिव ६ सय मिटर लामो हुने आयोजनाले जनाएको छ।
जापान सरकारको ऋण सहयोगमा यो सुरुङमार्ग निर्माण गर्न लागिएको हो। कुल लागत २२ अर्व मध्ये सहुलियत ऋण सहयोग १५ अर्व हुनेछ भने नेपाल सरकारले आफ्नो स्रोतबाट ७ अर्व व्यहोर्ने छ।