
काठमाडौं। चिनियाँ ह्याकरहरुले कसरी नेपाली बैंकहरुको एटिएम दूरुपयोग गरेर पैसा लुटे भन्ने पत्ता लगाउन बोलाइएको विदेशी टोलीले ६५ हजार डलर (आजको विनिमय दरअनुसार करिव ७५ लाख रुपैयाँ) मा काम गरेका छन्।
अहिलेसम्मको तथ्याङ्क अनुसार चिनियाँ ह्याकरले नेपाल र भारतबाट गरेर नेपाली बैंकको ३ करोड ४५ लाख रुपैयाँ लुटेको फेला परेको छ। उनीहरुले १९ दिनअघि शनिवार बिदाको दिन पारेर पैसा लुटेका थिए।
५ बैंकको एटिएम बुथबाट ६ वटा बैंकको कार्ड प्रयोग गरी उनीहरुले पैसा लुटेका थिए। उनीहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) मा आबद्ध बैंकको कार्ड र भिसा नेटवर्कका बैंकहरुको एटिएम बुथमा घोटेर पैसा लुटेका थिए।
उनीहरुले कसरी पैसा लुटे भन्ने पत्ता लगाउन सिङ्गापुरबाट फोरेन्सिक टोली बोलाइएको थियो। उनीहरुले तीन महिनामा प्रतिवेदन दिँदैछन्। उनहरुलाई ६५ हजार डलरमा काम सक्ने जिम्मेवारी दिइएको नेप्सका प्रमुख प्रविण क्षेत्रीले जानकारी दिए।
फोरेन्सिक टोलीले पुरै पैसा लगिसकेका छैनन्। उनीहरुले किस्ताबन्दीमा भुक्तानी लिने छन्।










