
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकार र अनररी कन्सुलर कर्प्स् नेपाल (एचसीसीएन)बीच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन्। ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र एचसीसीएनबीच सहकार्यको आवश्यकता औँल्याएका हुन्।
परराष्ट्र मन्त्रालयअन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौंको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार : अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा महासंघ अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
नेपालले आफ्नो आर्थिक कूटनीतिलाई बढाउँदै विकास र समृद्धिमा फड्को मार्न विश्वका महत्त्वपूर्ण ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गरे। ढकाल एचसीसीएनका डिन समेत हुन्।
‘सरकार र अनररी कन्सुलर कर्प्स् नेपालबीच विश्वास र साझेदारीको सहकार्य आवश्यक छ। राज्यले एचसीसीएनलाई अवैतनिक र औपचारिक दूतको रुपमा मात्र होइन आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ,’ उनले भने।
ढकालका अनुसार वाणिज्यदूतहरू व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिल्यै सक्रिय रहेका छन्। उनीहरूले सरकारको खर्चबिना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवर्धन गरिरहेको उनको भनाइ छ।
उनले वाणिज्यदूतहरूलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलको रूपमा उपयोग गर्न सकिने उल्लेख गरे।
त्यस्तै, भूकम्प, बाढी र अन्य संकटको बेला वाणिज्यदूतहरूले प्रतिनिधित्व गर्ने देशहरूले नेपाललाई सहयोग गरेको बताउँदै उनले यसले वाणिज्यदूहरूमार्फत उनीहरूले प्रतिनिधित्व गर्ने देशसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने धारणा राखे।
परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, एचसीसीएन, निजी क्षेत्र र कूटनीतिक निकायबीच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
‘आर्थिक कूटनीति केवल व्यापारमा सीमित छैन। यो रोजगार, प्रविधि, ब्राण्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ,’ उनले भने।
निजी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट पारे।
भारत, चीन र यूएई लगायतका मुलुकमा प्रधानमन्त्रीको भ्रमणको बेला आयोजना गरिएका व्यापार सम्मेलनहरूले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कूटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रुपमा यस किसिमका कार्यक्रमहरू आयोजना गर्न सकिने विश्वास व्यक्त गरे।