परम्परागत खेतीबाली निर्यात गर्न सके राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्छ : कृषिमन्त्री अधिकारी

बिजमाण्डू
२०८२ असार ८ गते १७:४४ | Jun 22, 2025
परम्परागत खेतीबाली निर्यात गर्न सके राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्छ : कृषिमन्त्री अधिकारी

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले परम्परागत खेतीबालीलाई व्यावसायीकरण गरी निर्यात प्रवर्धन गर्न सके किसानको जीवनस्तर सुधार गर्न सकिने बताएका छन्। उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको स्थापना कार्यशालालाई आइतबार सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्।

Tata
GBIME

परम्परागत बालीहरूको व्यावसायीकरण गरी मूल्य श्रृंखलाको विकासमार्फत निर्यात प्रवर्धन गर्न सके कृषकहरूको जीवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने मन्त्री अधिकारीले बताए।

देशको कुल गार्हस्थ्य उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकासबिना राष्ट्रिय समृद्धि सम्भव नभएको उनको भनाइ छ। राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारी सिर्जना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकदेखि नै महत्त्वपूर्ण योगदान रहँदै आएको भन्दै उनले यस कार्यक्रमले कृषि क्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने अपेक्षा व्यक्त गरे।

मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकामा यो कार्यक्रम संचालनमा रहेको जानकारी दिए। उक्त कार्यक्रमले उत्थानशील खेती प्रणालीमार्फत ती क्षेत्रमा उच्च सम्भावना भएका उच्च मूल्य कृषि वस्तुहरूको प्रवर्धन गर्दै बजारीकरणबाट साना कृषकहरूको आयआर्जन र गरिबी निवारणमा योगदान पुर्‍याउने उनले बताए।

नेपाल सरकार र इन्टरनेशनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्टबीच सम्झौता भई ८ वर्ष अवधिका लागि लागू हुने यस कार्यक्रमले नाफामूलक, समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीको अवलम्बनमार्फत युवा, महिला, जनजाति र आदिवासीको सशक्तीकरण गर्दै गरिबी निवारण र साना कृषकहरूको उत्थानशीलता सुधार गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममार्फत बुटवल उपमहानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको कृषि बजार निर्माण गरी संचालन गरिने कृषि मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले जानकारी दिए। सचिव शर्माले यसमार्फत देशका अन्य क्षेत्रहरूमा स्थापना भएका स-साना कृषि बजारहरूलाई जोडेर उच्च मूल्य कृषिवस्तुहरूको क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्धन गर्न सक्ने सम्भावना समेत रहेको बताए।