
काठमाडौं। नेपाली क्रिकेट टोली त्रिदेशीय टी-२० सिरिजको अन्तिम खेलमा पराजित भएको छ। स्कटल्याण्डको ग्लास्गोस्थित टिटवुड मैदानमा आज सम्पन्न खेलमा नेपाली टोली घरेलु टोलीसँग ३४ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल १८.५ ओभरमा १५९ रनमा अलआउट हुँदै ३४ रनको हार ब्यहोर्न पुगेको हो।
घरेलु टोलीका कप्तान रिची बेरिङटनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। नेपालका लागि पहिलो सफलता ३.२ ओभरमा रुपेश सिंहले ९ रन बनाएका मार्क वाटलाई बोल्ड आउट गर्दै दिलाएका थिए। तर, दोस्रो विकेटका लागि भने जर्ज मुन्से र ब्राण्डन म्याकमुलेनले ५६ बलमा १०० रनको साझेदारी गर्दै स्कोर उकासे। जर्जले सर्वाधिध ७८ रन बनाउँदा म्याकमुलेनले ४२ रन बनाए। त्यस्तै, माइकल लिस्क २६ र म्याथ्यु क्रस १७ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई शीर्षक्रमका ब्याटरले उत्साहप्रद सुरुवात दिलाउन सकेनन्। ओपनर कुशल भुर्तेल ४ र आशिफ शेख १४ रनमा आउट हुँदा भीम सार्की १२ रनमा आउट भए। नेपालका लागि अन्तिमसम्म भिडेका रुपेश सिंहले सर्वाधिक अविजित ४३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३४ तथा कप्तान रोहित पौडेलले २७ रन बनाए।
बलिङतर्फ स्कटल्याण्डका क्रिस ग्रिएभ्सले ३ विकेट लिँदा सफयान सरिफले २ तथा ब्राण्डन म्याकमुलन, मार्क वाट र माइकल लिस्कले समान १ विकेट लिए। योसँगै स्कटल्याण्डले घरेलु मैदानमा टी-२० सिरिज जितेको छ। तीनवटै टोलीले समान ४ खेल खेल्दा २ वटामा जित र दुई वटामा हारको नतिजा ब्यहोर्दै ४ अंक बनाए। यीमध्ये रनरेटमा अघि रहँदै स्कटल्याण्डले सिरिज जित्यो। नेपाल दोस्रोमा रह्यो।
खेलपछि पोस्टम्याच प्रेजेन्टेसनमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आजको खेलमा सोचेजस्तो नभएको बताए।
‘हामीले राम्ररी खेल्यौँ। हामीले सोचेजस्तो भयो। आज हामी राम्रो गर्न सक्थ्यौँ। समग्रमा ओडीआई र टी-२० को प्रदर्शनबाट खुशी छौँ। यो सिरिज अवेमा सहज थिएन। प्रतिस्पर्धी दुबै टोली राम्रा थिए। तर, हामी अझ राम्रो गर्न सक्थ्यौँ।’ उनले भने।