
काठमाडौं। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएका छन्।
उनले विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोध देखाएर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएका हुन्।
‘विरोध, असहयोग र यहाँको वातावरण उचित नभएको हुँदा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट विशेष कारणवश हटाएको छु,’ उनले भने।
उनले पर्यटन, खेलकुद, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महिला मन्त्रालयमाथिको बजेटमाथिको छलफल भने अगाडि बढाएका छन्। मन्त्रीहरुको उपस्थितिविनै छलफल अगाडि बढाएकामा सत्तारुढ दलकै सांसदले प्रश्न उठाए।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीहरुको उपस्थितिविना बजेटमाथि छलफल अगाडि बढाउन नमिल्ने भन्दै सभामुखको ध्यानाकर्षण गराए। त्यसपछि सभामुखले खेलकुद र महिला मन्त्रालयमाथिको बजेटमाथि छलफल गर्ने कार्यक्रम कार्यसूचीबाट हटाए।

रास्वपा र राप्रपाका सांसदहरुले भने बैठक बहिष्कार गरेका छन्।