विदेश भ्रमणप्रति मन्त्रीहरुको मोह, तेजुलाल दुबई र अधिकारी बैंककमा, लाइनमा को-को?

बिजमाण्डू
२०८२ असार ४ गते १६:३३ | Jun 18, 2025
विदेश भ्रमणप्रति मन्त्रीहरुको मोह, तेजुलाल दुबई र अधिकारी बैंककमा, लाइनमा को-को?
असार २ गते बसेको मन्त्रिपरिषद् बैठक

काठमाडौं। विदेश भ्रमणका लागि मन्त्रीहरु लाइन बसेका छन्। मन्त्रिपरिषद्को असार २ गते बसेको बैठकले मन्त्रीहरुको विदेश भ्रमणका ५ वटा प्रस्ताव स्वीकृत गरेको छ।

Tata
GBIME

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सार्वजनिक गरेको निर्णय अनुसार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी मंगलबार दुबई गइसकेका छन्। उनी एसिया क्षेत्रस्तरीय दुई दिने एन्टी डोपिङ बैठकमा भाग लिन गएका हुन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल थाइल्याण्ड जान लाइनमा छन्। उनले असार ९ देखि १३ गतेसम्म बैंककमा हुने कार्यक्रममा भाग लिन मन्त्रिपरिषद्को अनुमति लिएका हुन्।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बैंकक पुगिसकेका छन्। उनी बुधबारदेखि शुक्रबारसम्म तय एउटा संवाद कार्यक्रमका लागि बैंकक पुगेका हुन्।

अर्थमन्त्री विष्णु पौडेलले चीनको बेइजिङ जान यसअघि नै अनुमति लिइसकेका छन्। उनी असार १० देखि १२ गतेसम्म हुने एसियाली पूर्वाधार बैंकको बैठकमा भाग लिन बेइजिङ जान लागेका हुन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले टर्की जान अनुमति पाएका छन्। उनले असार १३ गतेदेखि १५ गतेसम्म टर्कीमा हुने ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरममा सहभागिताका लागि अनुमति पाएका हुन्।

प्रधानमन्त्री केपीशर्मा ओली असार १६ गते स्पेन जाँदैछन्। ओली नेतृत्वको टोली ६ दिन लामो भ्रमणमा जान लागेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ स्वीट्जरल्याण्डको जेनेभा जाँदैछन्। उनी असार २३ देखि २७ गतेसम्म हुने सूचना प्रविधि सम्बन्धी सम्मेलनमा भाग लिनका लागि जेनेभा जाने भएका हुन्।