
काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी किसानले चैते धानको उचित मूल्य नपाएको विषयलाई लिएर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गरेका छन्।
उनले सोमबार मन्त्रालयका सचिव र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित वाणिज्य मन्त्रालय पुगेर चैते धानको मूल्यबारे छलफल गरेका हुन्।
बैठकमा चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट चामल आयातको अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमता लगायत विषयमा छलफल भएको मन्त्रट्ठ अधिकारीको सचिवालयले जनाएको छ।
मन्त्री अधिकारीले किसानले चैते धानको उचित मूल्य पाउने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए। तर, मन्त्री भण्डारीले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग बसेर समस्याको समाधान खोज्नुपर्ने बताए। किसानले धानको उचित मूल्य नपाएको विषय हेर्ने जिम्मेवारी अर्थ मन्त्रालय र आयोगको होइन।
सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल २८००.६९ रुपैयाँ तोकेको छ। तर, किसानले १५ देखि १६ सय रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन्। हाल बिक्रीका लागि किसानसँग डेढ लाख मेट्रिक टन हाराहारी धान रहेको अनुमान छ।