माथिल्लो तामाकोशीमा ९८% काम भयो भनिरहँदा केमा भइरहेको छ ढिला? ‘चक्रपथमा यमराज’     



रासस
२०७६ भदौ १२ गते १५:२७ | Aug 29, 2019

Tata
GBIME
Nepal Life

काठमाडौँ। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ। 

बैठकमा पूर्वअर्थमन्त्री नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गरेका छन्। उनले भने, “आयोजना यो वा त्यो बहानामा विलम्ब नगर्न म सरकारको ध्यानाकर्षण गराउँछु।”     
     
उनले स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा भइरहेको ढिलाइले लागतसमेत बढेको छ भन्दै किन त्यस्तो भएको हो भनी प्रश्न गरेका थिए।     

नेकपाका वसन्त नेम्वाङले सरकारले चालू आवभित्र देशका ४० जिल्लालाई पूर्णरुपमा विद्युतीकरण गर्ने भनी ल्याएको योजनालाई सहज रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उज्यालो नेपाल निर्माणको दीर्घकालीन लक्ष्यसहितको कार्यक्रम अगाडि सारेकामा धन्यवाद दिँदै उनले त्यसको प्रभावकारी कार्यान्वयनको माग गरे।     
     
देशव्यापी रुपमा विद्युत्भार कटौतीको अन्त्य गरिएपछि विद्युत्को खपत दरसमेत बढेको छ भन्दै देशव्यापी रुपमा पूर्णरुपमा विद्युतीकरण गर्ने गरी अगाडि सारिएको कार्ययोजनाको कार्यान्वयनपछि त्यसले अर्थतन्त्रमा समेत सकारात्मक पार्ने भनाइ उनले राखे। 

सांसद नेम्वाङले सबै नेपाली जनताको घरघरमा उज्यालो पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई पूरा गर्नका लागि भइरहेको प्रयासलाई सबै क्षेत्रलाई साथ र सहयोग उपलब्ध गराउन आग्रह गरे। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले शुरु गरेको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्न आफूहरुको पनि साथ सहयोग रहने बताए।     
          
‘चक्रपथमा यमराज’     
बैठकमा राजधानीको चक्रपथमा पैदल यात्रुका लागि सडक वारपार गर्न जेब्रा क्रसिङ नभएका कारण नागरिकको ज्यान जाने गरेको भन्दै सदन र सरकारको ध्यानार्षण गराइएको छ।     
     
नेकपाका विरोध खतिवडाले चक्रपथमा जेब्रा क्रसिङ नभएका कारण पैदल यात्रुले अनाहकमा ज्यान गुमाउनु परिरहे पनि सरकार र सम्बद्ध निकायले ध्यान नदिएको भनी गुनासो गरे। 

“अभिभावकले यमराज देखाउन भन्दै आफ्ना बालबालिकालाई चक्रपथमा ल्याएर टिपरलाई देखाउने गरेका छन्। टिपर आतङ्कका कारण मासिक रुपमा सात जनाको ज्यान जाने गरेको छ तर सरकारले टिपर व्यवस्थापनमा ध्यान दिएको छैन”, उनले भने, टिपरको बोलाहा दौडाइ रोक्न तत्काल कदम चाल्नुपर्यो।”