पर्यटकभन्दा नेपालीले विदेशमा गर्ने खर्च साढे २ गुणा बढी, बाह्य क्षेत्रका सबै सूचक उचाइमा

बिजमाण्डू
२०८२ जेठ २७ गते ११:५० | Jun 10, 2025
पर्यटकभन्दा नेपालीले विदेशमा गर्ने खर्च साढे २ गुणा बढी, बाह्य क्षेत्रका सबै सूचक उचाइमा

काठमाडौं। नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीहरुको खर्च बढेर खुद सेवा आय घाटामा गएको छ। तर विदेशमा काम गर्न गएका नेपालीहरुले पठाएको रेमिटेन्सका कारण भने समग्र विदेशी मुद्रा सञ्चितिमा भने उच्च सुधार देखिएको छ।

Tata
GBIME

सेवा आय ८६ अर्ब ५३ करोड रुपैयाँ घाटामा छ। जुन पोहोरभन्दा ३६ अर्ब हाराहारीले बढी हो।

नेपाल राष्ट्र बैंकले मंगलबार चालु वर्षको १० महिना (वैशाख) सम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल भित्रिने पर्यटकबाट भएको आम्दानी साढे ८ प्रतिशतले बढेको देखाएको छ। तर विदेश घुम्न, पढ्न र उपचार गर्न गएका नेपालीको खर्च करिब १० प्रतिशतले बढेको छ। ७५ अर्ब ७१ करोड आम्दानी हुँदा एक खर्ब ८५ अर्ब खर्च भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

विदेश काम गर्न गएका नेपालीहरुले पठाएको रेमिटेन्स भने कोभिड यता हरेक महिना निरन्तरजस्तो बढिरहेको छ। वैशाखसम्म १३ खर्ब ५६ अर्ब रुपैयाँ भित्रिइसकेको छ।

अर्कोतिर आयात र निर्यात व्यापारमा सुधार भएको छ। आयात बढ्दा आर्थिक गतिविधि सहज हुँदै गएको देखाउँछ भने निर्यातले आम्दानी वृद्धि भएको देखाउँछ। यद्यपि पामतेल र भटमासको तेलको आयात वृद्धिका कारण समग्र आयातमा सुधार भएको देखिन्छ। यी दुवै वस्तु नेपाल ट्रान्जिट भएर भारत जाने गरेका छन्। त्यसैले यी दुई वस्तुका कारण आयातसँगै निर्यात पनि सुधार भएको हो।

तर अन्य केही औद्योगिक कच्चापदार्थ, निर्माण उपकरणलगायतको पनि आयातमा सुधार भएको छ। यसले उत्पादन वृद्धिमा सघाउँछ। उपभोग्य आयात पनि बढेको छ।

रेमिटेन्ससँगै निर्यात व्यापारमा भएको सुधार लगायतले विदेशी मुद्रा सञ्चिति १० महिनामा २० खर्ब ४१ अर्ब १० करोडबाट बढेर २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

बाह्य क्षेत्रतर्फ चालु खाता दुई वर्षयता निरन्तर धनात्मक छ। अहिले २ खर्ब ५५ अर्ब ९२ करोड रुपैयाँ धनात्मक छ। समग्र शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड धनात्मक छ। विदेशी मुद्रा सञ्चिति, चालु खाता, शोधनान्तर बचत र रेमिटेन्स ऐतिहासिक उचाइमा छन्।