
काठमाडौं। चालु आर्थिक वर्ष साढे १० महिनामा वाणिज्य बैंकहरुले ३ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। वाणिज्य बैंकहरुले साउनदेखि जेठ १६ सम्म गरेको ३ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानीमध्ये ६० प्रतिशत प्रत्येक त्रैमासको अन्तिम समयमा बढाएका हुन्।
चालु आर्थिक वर्ष पहिलो त्रैमासको अन्तिम महिना असोजमा ५६ अर्ब, दोस्रो त्रैमासको अन्तिम महिना पुसमा ९४ अर्ब र तेस्रो त्रैमासको अन्तिम महिना चैतमा ६५ अर्ब ऋण लगानी गरेको देखिन्छ। यो रकम पनि बैंकहरुले अन्तिम साता लगानी गरेका हुन्।
हरेक त्रैमासको अन्तिम महिनामा उच्च मात्रामा ऋण लगानी बढाएका बैंकहरुमा त्यसपछिको महिना प्राय: कर्जा खुम्चिएको तथ्यांक छ।
बैंकहरुको कर्जा असोजमा ६५ अर्बले बढेकामा कात्तिकमा २ अर्ब तथा चैतमा ६५ अर्बले बढेकामा वैशाखमा ४ अर्बले खुम्चिएको राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ। बैंकहरुले पुसमा ९४ अर्बले कर्जा लगानी बढाउँदा त्यसपछिको महिना माघमा भने घटेको थिएन। माघमा भने १२ अर्ब कर्जा लगानी भएको थियो।
ऋण असुली प्रभावित भएर खराब कर्जा बढिरहेका बेला ब्यालेन्स सिट ठिकठाक देखाउनका लागि ऋण तिर्न ऋण लिने र दिने प्रवृत्ति मौलाएको कतिपयको आंशका छ। तर, राष्ट्र बैंकले भने त्रैमासको अन्तिममा ऋण धेरै प्रवाह हुनुलाई अस्वाभाविक मानेको छैन।
बैंक तथा वित्तीय संस्थाहरुले त्रैमासको अन्तिममा ऋण लगानी उच्च दरमा बढाएको विषयमा राष्ट्र बैंकले राष्ट्र बैंकले सूक्ष्मरुपमा अध्ययन गरेको थियो।
अध्ययनमा संलग्न राष्ट्र बैंकका अधिकारीले त्रैमासको अन्तिममा कर्जा र निक्षेप दुवै बढेको तर त्यो अस्वभाविक नदेखिएको बताए।
‘अधिकांश ऋण त्रैमासको अन्तिममा गएको देखिएपछि हामीले सूक्ष्मरुपमा हेरेका थियौं। ठूलो-ठूलो कर्जा त्रैमासको अन्तिममा रिलिज भएको पायौं। अधिकांश कर्जा स्वाभाविक नै देखिन्छ। बैंकहरुले स्वीकृत गरेको ऋणको ठूलो हिस्सा त्रैमासको अन्तिममा नै रिलिज गर्ने गरेको पाइयो,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘कतिपय ऋण चाहिं ऋण तिर्नकै लागि मिलाएको देखियो। ऋण तिर्नका लागि घुमाउरो पारामा ऋण दिएको पनि भेटियो।’
बैंकहरुले चालु आर्थिक वर्ष त्रैमासको अन्तिम महिना र त्यसपछिको महिना बाहेक साउनमा २ अर्ब, भदौमा ५३ अर्ब, मंसिरमा ४२ अर्ब, फागुनमा २३ अर्ब र जेठको १६ दिनमा २४ अर्ब कर्जा विस्तार गरेको तथ्यांक छ।
कर्जा मात्र होइन त्रैमास सकिएपछिको महिनामा निक्षेप समेत खुम्चिने गरेको देखिन्छ। चालु वर्ष साढे १० महिनामा बैंकहरुले ४ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेकोमा पहिलो त्रैमासपछिको महिना कात्तिकमा निक्षेप १९ अर्बले खुम्चिएको तथ्यांक छ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ तिलकराज पाण्डेय त्रैमासको अन्तिममा ऋण लगानी र निक्षेप संकलन बढ्नुलाई स्वाभाविकरुपमा हेर्नुपर्ने बताउँछन्। हरेक वर्ष पहिलो/दोस्रो त्रैमासमा उद्योगि व्यवसायीहरुको वर्किङ सिजन हुँदा त्यो बेलामा कर्जा बढ्ने गरेको उनको भनाइ छ।
‘हरेक वर्ष उद्योगी व्यवसायीका लागि पहिलो र दोस्रो त्रैमास वर्किङ सिजन नै हो। उनीहरुले दसैं तिहारको सामान आयात गर्न व्यवसाय बढाउने हुँदा पहिलो त्रैमासको अन्तिममा ऋण बढी जाने गर्छ,’ उनले भने, ‘दोस्रो त्रैमासको अन्तिममा हाइड्रोपावर लगायत निर्माण क्षेत्रमा ऋणको माग बढ्छ। इभी र सेयर धितोमा पनि ऋण लगानी बढेको छ।’
त्रैमासको अन्तिममा बैंकहरुले पनि निक्षेपको ब्याजदर भुक्तानी गर्ने हुँदा त्यसपछिको अर्को महिना कर्जा र निक्षेपमा संकुचन आउने उनको भनाइ छ।
अर्का बैंकका सीइओका अनुसार स्वीकृत भइसकेको कर्जा लिन नआउने उद्योगी व्यवसायीलाई बैंकहरुले त्रैमासको अन्तिममा ताकेता गर्ने प्रवृत्ति छ। त्यस्तै ओभरड्राफ्ट (ओडी) पनि अन्तिम त्रैमासमा बढी प्रयोग हुने गरेको बैंकहरुको भनाइ छ।
‘कुनै ऋणीले ५० करोडको व्यक्तिगत ओडी कर्जा लिमिट लिएको छ। तर, त्यो लिमिट प्रयोग गरेको छैन भने हामी क्वाटर इन्डमा थोरै भए प्रयोग गरिदिन भन्छौं,’ ती सीइओले भने, ‘बैंकले भनिहाल्यो भनेर ऋणीले केही लिमिट प्रयोग गर्छन्। त्यसले पनि कर्जा बढ्ने गरेको हो।’