
विराटनगर।राजस्व अनुसन्धान कार्यालय इटहरीले गत आर्थिक वर्ष २०७५/७६ मा पूर्वका विभिन्न ११ अदालतमा ७ करोड ८९ लाख रुपैयाँ बिगोका १३ वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ।
प्रधानमन्त्रीको कार्यालयअन्तर्गत सञ्चालन हुन थालेपछि राजस्व अनुसन्धान कार्यालयले सोझै छानबिन र दण्ड जरिवाना नगरी राजस्व छली र अपचलनका मुद्दालाई अदालतमा पठाउन थालेको हो।
इटहरीस्थित कार्यालयको कार्यक्षेत्र साबिकको पूर्वाञ्चल क्षेत्र अर्थात् पूर्वका १६ जिल्ला हुन्।सबैभन्दा बढी मुद्दा सुनसरी जिल्ला अदालतमा ५ वटा, त्यसपछि मोरङमा ४ र सिराहामा २ तथा सप्तरी र झापा जिल्ला अदालतमा १/१ वटा छन्। कुल ११ मुद्दामा ५१ व्यक्ति र ५ व्यावसायिक फर्मलाई प्रतिवादी बनाइएको छ।
जम्मा ११ मुद्दामध्ये सबैभन्दा बढी कपडासम्बन्धी ४ वटा र त्यसपछि सुनचाँदी सम्बन्धी ३ वटा छन्।सबैभन्दा बढी बिगो दाबी गरिएको मुद्दा मोरङ जिल्ला अदालतमा नक्कली भोला गुट्खासम्बन्धी छ। यसको बिगो ९६ लाख ११ हजार रुपैयाँ छ। यसका प्रतिवादीमा विराटनगर ६ का विजयकुमार शाह, झापाका देवेन्द्र शिवाकोटी र झापाकै धर्मेन्द्र गुप्ता छन्।
दोस्रो बिगो दाबी गरिएको मुद्दा सिराहा जिल्ला अदालतमा अवैध सुनसम्बन्धी छ। यसको बिगो ९१ लाख ९२ हजार रुपैयाँ छ। यसका प्रतिवादीमा मोहम्मद रिहाजराइमसहित १४ जना छन्।
झापा चन्द्रगढीस्थित शिव स्टोरका सञ्चालक सञ्जीवकुमार घोष विरूद्धको कपडासम्बन्धी मुद्दा पनि यहाँ चर्चित छ। सुनसरी जिल्ला अदालतमा दायर गरिएको यस मुद्दाको बिगो ४५ लाख ८९ हजार रुपैयाँको छ।
मोरङ जिल्ला अदालतमा स्वस्तिका ट्रेडर्स एन्ड सप्लायर्स नामको फर्म र भन्सार प्रतिनिधि सन्जित भगतसमेत ८ जनालाई प्रतिवादी बनाई अवैध कपडा छलीसम्बन्धी मुद्दा दायर गरिएको छ। यसको बिगो २३ लाख १५ हजार कायम गरिएको छ।
मोरङमै दायर गरिएका अर्को मुद्दा ५ लाख बिगो कायम गरिएको अवैध सुनका गहनासम्बन्धी हो। यसमा भारत पन्जाबका रविशेर सिंह र तर्मेश सिंहलाई प्रतिवादी बनाइएको छ।
नक्कली भोला गुट्खाको मुद्दा सुनसरी जिल्ला अदालतमा पनि दायर गरिएको छ। यसका प्रतिवादी राजविराज नगरपालिकाका शिवनारायण शाह हुन्। शाहविरूद्ध २२ लाख ५९ हजार बिगो निर्धारण गरिएको छ।
त्यस्तै सुनसरी जिल्ला अदालतमा दायर गरिएको अर्को मुद्दा चाँदीका गरगहना सम्बन्धी छ। यसमा भारत घर भई हाल विराटनगर बस्ने विश्वनाथ जानालाई प्रतिवादी बनाइएको छ। उनीविरूद्ध ३ लाख ८० हजारको बिगो कायम गरिएको छ।
अवैध खैनी तथा सुर्ती मुद्दामा सुनसरी जिल्ला अदालतमै प्रतिवादी बनाइएका भोक्राहा सुनसरीको जयराम खैनीसुर्ती उद्योगका सञ्चालक सरोज अन्सारीविरूद्ध १ लाख ५५ हजारको बिगो छ।
एउटै नम्बरका २ वटा वा सोभन्दा बढी भ्याट बिल बनाउनेलाई पनि राजस्व अनुसन्धानले छाडेको छैन। सुनसरीको रामधुनी नगरपालिकाको कृष्टि कोल्ड सेन्टरले एकै नम्बरका २ वटा वा सोभन्दा बढी भ्याट बिल बनाएको पाइएको हो। कार्यालयले सेन्टरका सञ्चालक काशीराम चौधरीसहित ३ जना विरूद्ध सुनसरी जिल्ला जिल्ला अदालतमा मुद्दा दायर गरी १ लाख ८१ हजारको बिगो भराउन माग गरिएको छ।
कार्यालयले विदेशी विनिमय अपचलन तथा हुन्डी कारोबारका २ वटा मुद्दा दायर गरेको छ। जसमध्ये एक मुद्दा मोरङ र अर्को सिरहा जिल्ला अदालतमा छन्।
मोरङको मुद्दामा भारतका रविशेर सिंहसमेतलाई प्रतिवादी बनाइएको छ। यस मुद्दामा भारु ४९ हजार पक्राउ परेको प्रतिवेदनमा उल्लेख गर्दै ७८ हजार रुपैयाँको बिगो कायम गरिएको छ।त्यस्तै लाहान नगरपालिकाका मोहम्मद रिजामलाई पनि हुन्डी मुद्दामा प्रतिवादी बनाउँदै ९१ लाख ९२ हजारको बिगो दाबी गरिएको छ।











