काठमाडौँ। नेपाली क्रिकेट टोलीले स्कटल्याण्डविरुद्ध हातबाट उम्किसकेको खेलमा जित निकालेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको आज सम्पन्न खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले हराएको हो।
स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल स्टेडियममा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
घरेलु टोलीले सुरुवाती ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो।
दमदार ओपनिङ, फितलो मिडफिल्ड र करण केसी
२९७ रनको चुनौतीपूर्ण लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ७२ पहिलो विकेटका लागि ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए।
भुर्तेलले ४४ बलमा ५३ रन बनाउँदा आशिफले ३३ बलमा २० रन बनाउँदै पभेलियन फर्किए। त्यस्तै, भीम सार्की र रोहित कुमार पौडेलले संयमित ब्याटिङ गर्दै इनिङ्स अघि बढाउन खोज्दा ओपनरले दिएको मोमेन्टमलाई भने साथमा लैजान सकेनन्। भीमले ४८ बलमा ४० र रोहितले ५६ बलमा ३७ रन बनाए।
त्यसपछि आएका आरिफ शेखले ७ र दीपेन्द्रसिंह ऐरीले ८ रन बनाउँदा सोमपाल कामी १ रनमै आउट भए।
नेपाल ३८.२ ओभरमा १९२-७ को अफ्ठ्यारो अवस्थामा पुगेपछि आएका गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै आशालाई जीवित राखे। उनले ३० बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४२ रन बनाए। गुल्सन आउनु अघि नेपालको मोमेन्ट खराब हुँदै अफ्ठ्यारो अवस्थामा पुगिसकेको थियो। खेलमा घरेलु टोली स्कटल्याण्डले पकड बनाइसकेको थियो।
गुल्सनले सिर्जना गरेको ब्याटिङको माहोललाई प्रभावशाली रुपमा अघि बढाउँदै नवौँ ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका करण केसीले भने जादु नै गरे। बलिङमा सबैभन्दा किफायती रहेर २ विकेट लिएका केसीले नेपालका लागि सर्वाधिक अविजित ६५ रन बनाए। उनले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै टिमलाई लक्ष्यसम्म पुर्याए। आजकै खेलमा उनले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक पूरा गरे।
नेपालको ब्याटिङलाई धराशायी बनाउन स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनले ३ विकेट लिँदा ज्याक जार्भिस र माइकल लिस्कले समान २ तथा जेस्पर डेभिडसन र मार्क वाटले समान १ विकेट लिए।
स्कटल्याण्डविरुद्ध करण नै किफायती
त्यसअघि टस हारेर सुरुवाती ब्याटिङमा उत्रिएको घरेलु टोलीको आक्रमक ब्याटिङलाई रोक्न नेपाली बलरलाई हम्मेहम्मे परेको थियो। स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनायो।
स्कटल्याण्डका लागि चार्ली टिअरले सर्वाधिक ८० रन बनाउँदा फिनले म्याकक्रेथले ५५, म्याथ्यु क्रसले ३९, ब्राण्डन म्याकमुलनले १९ तथा माइकल लिस्कले १८ रन बनाए।
बलिङमा रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए। यीमध्ये केसीले राम्रो इकोनमीमा बलिङ गर्दा ढकाल सबैभन्दा महँगा बलर बने। केसीले १० ओभरमा बलिङ गरेर १ मेडन राख्दै ४३ रन दिँदै २ विकेट लिएका थिए।
सातौँ स्थानमा उक्लियो नेपाल
जितसँगै नेपाली टोली अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ। लिग-२ मा सहभागी ८ टोलीमध्ये पुछारमा रहेको नेपाल स्कटल्याण्डलाई हराएर २ अंक हात पारेसँगै यूएईलाई पछिपार्दै सातौँ स्थानमा उक्लिएको हो।
नेपाली टोलीको १३ खेलबाट ८ अंक छ भने यूएईको १६ खेलबाट ६ अंक छ। स्कटल्याण्ड भने १७ खेलबाट २० अंक बनाउँदै तालिकाको चौथो स्थानमा छ। शीर्षसमा २० खेलबाट २८ अंक बनाएको अमेरिका छ।
लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले बुधबार नेदरल्याण्ड्ससँग दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछ।











