सुन बिक्न छोडेपछि बैंकहरुको स्टक घटेन, स्टक नघटेसम्म सुन आयात नगर्ने, तोलाको ६५ हजार कायमै



बिजमाण्डू
२०७६ साउन ८ गते १४:२० | Jul 24, 2019

Tata
GBIME
Nepal Life

बिजमाण्डू। विगत पाँच दिनदेखि सुनको मूल्य स्थिर देखिएको छ। गत शनिवार प्रति तोला ६५ हजार रुपैयाँमा झरेको सुनको मूल्य बुधबारपनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

गत शुक्रबार सुनले सर्वाधिक मूल्य ६५ हजार पाँच सय रुपैयाँको रेकर्ड बनाएको थियो। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य थोरै मात्र तलमाथि भएकोले नेपाली बजारमा सुनको मूल्य स्थिर भएको सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए।

उनका अनुसार अन्तराट्रिय बजारमा प्रति औंस सुनको मूल्य बुधवार १४ सय २१ डलर ५० सेन्ट कायम भएको छ। तर मङ्गलबार सोही सुनको मूल्य १४ सय १७ डलर ५० सेन्ट कायम रहेको थियो।

प्रति औंस सुनको मूल्यमा खासै फरक नदेखिएकोले नेपाली बजारमा सुनको मूल्यका परिवर्तन नगरिएको शाक्यको भनाइ छ।
तर चाँदीको मूल्य भने बुधवार प्रति तोला १० रुपैयाँले बढेको छ।बुधवार अन्तर्राष्ट्रिय बजारमा एक औंस चाँदीको मूल्य १६ डलर ५३ सेन्ट कायम भएको छ।

अघिल्लो दिनको तुलनामा २२ सेन्ट चाँदीको मूल्य बढेको हो। सोही आधारमा नेपाली बजारमा चाँदीको मूल्य प्रति तोला १० रुपैयाँ बढेर सात सय ७५ रुपैयाँ पुगेको शाक्यले बताए।

सुनको मूल्य बढेका कारण बजारमा माग भने घटेको छ। माग घटेका कारण चालु आर्थिक वर्षमा सुनको आयात ठप्प भएको छ। नयाँ आर्थिक वर्ष लागेयता बैंकहरूले सुन आयात नगरेको बैंकर्स सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले जानकारी दिए।

उनका अनुसार हाल बैंकहरूमा सात सय ४० किलो सुन स्टक रहेको छ। शुक्रबार यता नेपाली बजारमा जम्मा पाँच केजी मात्रै सुन खपत भएको छ।

शुक्रबारसम्म बैंकहरूमा ७ सय ४५ केजी सुन स्टक रहेको थियो। त्यसयता नयाँ सुन दैनिक एक केजी मात्रै खपत भएको छ।

सुनको माग घटेका कारण सङ्घले अझै केही हप्ता सुन आयात नगर्ने निर्णय गरेको छ। करिब एक महिनादेखि सुन आयात ठप्पै जस्तो रहेको छ। स्टक सुनको मौजुदा तीन सय किलोमा झरेपछि मात्रै सुन आयात गर्ने योजना सङ्घको रहेको छ।

असार १० गते ऐतिहासिक मूल्य छोएर घटेको सूनको भाउले गत शुक्रबार पुन त्यही मूल्य भेट्टाएको थियो। त्यसयता पाँच सय रुपैयाँ घटेको सूनको भाउ पाँच दिनदेखि स्थिर रहेको छ।