काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले अन्तत: बुटवल-पोखरा सडकलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीका अनुसार अर्थमन्त्री पौडेलले आफ्नो चाहनामा यो सडकलाई बजेटमा समावेश गरिएको हो।
‘बुटवल-पोखरा सडकलाई डेडिकेटेड दुई लेन एक्सप्रेस वे बनाउने गरी बजेटमा राखिएको छ। यसलाई वैदेशिक सहयोग लिएर निर्माण गर्ने निश्चित भइसकेको छ,’ ती कर्मचारीले भने, ‘सडक विभाग र एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले गरेको अध्ययनका आधारमा निर्माण अगाडि बढाउने गरी बजेटमा राखिएको हो।’
अर्थमन्त्रीले यो सडकमा कति पैसा छुट्याए भन्ने चाहिं जानकारी नभएको भौतिक पूर्वाधार मन्त्रालयका ती कर्मचारीले बताए।
बुटवल-पोखरा सडक निर्माण गर्दा पोखरा र भैरहवा दुवै अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सकिने तथा भारतीय पर्यटकको संख्या बढाउन सकिने अर्थमन्त्री पौडेलको बुझाइ छ।
‘अर्थमन्त्रीज्यूले यो सडकलाई दुई वटा एयरपोर्ट जोड्ने बाटोका रुपमा लिनुभएको छ। यो सडकलाई उहाँले मुक्तिनाथ र लुम्बिनीमा भारतीय पर्यटकको संख्या बढाउने कडीका रुपमा लिनुभएको छ,’ भौतिक पूर्वाधार मन्त्रालयका ती कर्मचारीले भने।
अर्थमन्त्री पौडेलले बुटवल-पोखरा सडकले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिने सार्वजनिकरुपमा नै बताउँदै आएका छन्।विभागको डीपीआर अनुसार सडक विस्तारमा १९ अर्ब ७५ करोड रुपैयाँ लाग्ने अनुमान छ।










