चिनीको भाउ लगातार उकालो, उद्योगले ब्याज खर्च देखाएर बढाए मूल्य, उद्योगी भन्छन्- अझै बढ्छ

बिजमाण्डू
२०८२ जेठ १५ गते ११:१६ | May 29, 2025
चिनीको भाउ लगातार उकालो, उद्योगले ब्याज खर्च देखाएर बढाए मूल्य, उद्योगी भन्छन्- अझै बढ्छ

काठमाडौं। बजारमा चिनीको भाउ लगातार उकालो लागेको छ। उद्योगीले नै भाउ बढाएकाले त्यसको असर बजारमा परेको हो।

Tata
GBIME

उपभोक्ताले प्रति किलो चिनीको मूल्य अहिले ११० देखि ११२ रुपैयाँ तिरिरहेका छन्। दुई महिनाको अवधिमा चिनीको भाउ किलोमा १० रुपैयाँ बढेको छ। व्यापारीदेखि सरकारी कम्पनीले भाउ बढाएका छन्।

किराना व्यवसायी कृष्ण भट्टले चिनी माग अनुसार पाए पनि भाउ लगातार बढ्दै गएको बताए।

चिनी गोदाममा रहँदा ब्याज खर्चका कारण लागत धेरै परेकाले भाउ क्रमश: बढाएको र अझै बढ्ने उद्योगीहरुले बताएका छन्।

नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले क्रसिङ पछि चिनीको मूल्य बढ्नुलाई सामान्य मान्नुपर्ने बताए।

‘क्रसिङको समयकै भाउमा चिनी पाइँदैन। भाउ क्रमिकरुपमा बढ्नुलाई सामान्य मान्नुपर्छ,’ उनले भने, ‘उद्योगीले नयाँ उत्पादन गोदाममा राखेका छन्। जसले गर्दा ब्याज खर्चले गर्दा लागत बढेको छ। त्यसैले चैतको बिक्री मूल्यमा अहिले पाइँदैन। भाउ अझै बढ्छ।’

उद्योगमा चिनीको मूल्य भ्याटविना ८२ देखि ८३ रुपैयाँ छ। थोक बजारमा प्रति केजी १०० रुपैयाँका दरले किनबेच भइरहेको छ।

नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने गरेकामा चालु आर्थिक वर्ष करिब १ लाख ८० हजार मेट्रिक टन उत्पादन भएको छ।

यस्तै १० महिनामा १ अर्ब ४४ करोड ९२ लाख रुपैयाँको २ करोड २५ लाख ५ हजार ९८५ केजी चिनी आयात भएको छ। यसबाहेक भारतबाट अवैधरुपमा पनि चिनी भित्रिने गरेको छ।